एक हप्ताअघि बर्दियाकी २१ वर्षिया युवती घरबाट गुलरिया जान्छु भन्दै हिडिन् । नाकामा केरकार गर्दा उनलाई प्रेमीले हैदरावादमा काम लगाइदिन्छु भनेर बोलाएका रहेछन् । चिनजानका आधारमा प्रेमीको कुरा मानेर उनी एक्लै नेपालगंन्ज आइन् । उनलाइ श्रीपशुपति दर्शन ट्रल्स ट्राभलर्सले टिकट काटिदियो । टिकट बोकेर भारत जान हिँडेकी उनको नाकाबाट उद्धार भयो ।
आशिष सामाजिक सेवा नेपालकी आशा खड्काले ती युवतीलाई सबैको मिलेमतोमा दलालले भारत पुर्याउन लागेका थिए । ‘दलालहरु हामीभन्दा एक कदम अगाडि भइसके । अहिले पैदल होइन, मोटरसाइकल वा गाडी नै रिजर्भ गरेर महिला बालिकाहरु नाका पार गराउँछन् । हामी भने सडकमा हिँडेका पैदल यात्रुलाई केरकार गरिरहेका हुन्छौँ,’ उनले भनिन्, ‘होटल संचालकदेखि यातायात व्यवसायी र रिक्सावालाहरु समेत मिलेर महिला र बालबालिकालाई नाका पार गराउन भूमिका खेलिरहेका छन् ।’
मानवबेचबिखनविरुद्ध क्रियाशिल संस्थाहरुले आफ्नो संस्था फरक भएपनि उद्धेश्य एउटै भएको भन्दै जोखिम नियन्त्रणका लागि सहकार्य बढाउन छलफल सुरु गरेका छन् । यसरी सीमामा एउटा मात्र होइन, दश वटा संस्था छन् जो मानवबेचबिखन विरुद्ध अभियानमा काम गरिरहेका छन् । एउटामात्र संस्थाले सोधपुछ गरेर पुग्दैन । सोमबार ती नै संस्थाहरुबीच सीमाबाट महिला र बालबालिकाको उद्धार कार्यबारे छलफल भएको छ ।
‘जति धेरै पहरा हुन्छ, त्यति नै दुर्घटना घटाउन सहयोग पुग्छ,’ शान्ति पुनर्स्थापना गृह नेपालगंन्जका निर्मल घिमीरेले भनिन्, ‘हरेक संस्थाले सोधपुछ गर्नु जायज हो । जति बढी केरकार हुन्छ, त्यति जोखिमलाई घटाउन सकिन्छ।’
साथी संस्थाकी टिका शर्माले भनिन्, ‘गर्भवती महिलालाई समेत दलालले छाड्दैनन्।’ उनका अनुसार अहिले रुपैहिडियामा बसपार्क धेरै हुँदा पनि समस्या थपिएको छ । ‘रुपैहिडियामा मात्र पाँच वटा बसस्टेसन छन् । जसले थप जोखिम बढाएको छ,’ उनले भनिन् ।
केआइ नेपालकी सुनिता सारुले इन्ट्रीमा डुब्लिकेशन भएपनि उद्धारमा डुब्लिकेसन नभएको बताइन् । राज्यले नाकामा संस्थाहरुको डुब्लिकेसन भयो भन्दै गर्दा संस्थाले गरेको कामको अनुगमन तथा परिणामको मुल्याकंन हुन आवश्यक रहेको उनको भनाइ छ ।
यो खबर कान्तिपुरमा प्रकाशित छ ।