भूमिसुधार तथा मालपोत कार्यालय बाँकेले प्रदान गर्ने सेवामा बिचौलिया निरुत्साहित गर्ने प्रयास थालिएको छ । मालपोत कार्यालयमा सेवाग्राहीको बिचौलियामा प्रभावमा पार्ने र मनपरी असुली गर्ने गुनासोका बीच जिल्ला प्रशासन कार्यालय बाँकेले सुधारको प्रयास थालेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले मालपोत कार्यालयको सेवा प्रदान गर्ने कक्षमा अनाधिकृत व्यक्ति पाइए कारवाही गर्ने चेतावनी दिएको छ । ‘प्रशासनले गर्ने अनुगमनमा अनाधिकृत ब्यक्ति पाइएमा प्रचलित कानून बमोजिम भैजानेछ’, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले भने ।
मालपोतसँग सम्बन्धित सरोकारवालासँग छलफल गरी सेवामा नागरिकको सोझो पहुँच सुनिश्चित गर्ने प्रयास गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बिचौलिया रहित सेवा र सेवाशुल्क पारदर्शी बनाउने सहमति भएको जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले मंगलबार मालपोत कार्यालय नेपालगन्जका अधिकृत, भूसेवा केन्द्रका संचालक, लेखापढी ब्यवसायीहरू संगको छलफलबाट पहिलो चरणमा सुधारका दुई प्रयास थालिएको बताएका छन् । ‘सेवा प्रवाह कक्षमा कर्मचारी वाहेकका ब्याक्तिहरूको प्रवेश निषेध गर्ने, भु–सेवा केन्द्र र सेवाग्राही बीच सेवाका लागि हुने ‘सम्झौता’ पत्र मा सेवा शुल्क सहितका सम्पूर्ण विवरण अनिवार्य रूपमा उल्लेख गरि उक्त पत्र स्क्यान गरेर मात्र सिष्टममा अपलोड गर्ने’, सहमति छलफलमा गरिएको थियो ।
प्रशासनले सम्झौता पत्रको अनुगमन गरि कैफियत पाइएमा प्रचलित कानून बमोजिम हुने बताएको छ ।