वसन्त गौतम
विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ भनी कानूनमा उल्लेख गरिएको छ । वैवाहिक बन्धन कानूनी प्रावधान एवं अदालतबाट बिच्छेद नभएसम्म बमोजिम अन्त्य नभएसम्म कायम रहनेछ ।
मुलुकी देवानी संहिता, २०७४ भाग–३ को पारिवारिक कानून अन्तरगत परिच्छेद–१ मा बिवाह सम्बन्धी कानूनी ब्यवस्था गरिएको छ । जसअनुसार कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।
प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता छ । तर विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्ने हुन्छ । कानूनको अधीनमा रही पुरुष र महिला बीच विवाह हुन सक्दछ । पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर गरेमा, कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा, पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा, बीस वर्ष उमेर पूरा भएमा कानूनी रुपमा बिवाह गर्नका लागी योग्य मानिन्छ ।
आफ्नो जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न वा गराउन कुनै बाधा पर्ने छैन भन्ने ब्यवस्था कानूनमा रहेको छ । कसैले पनि कानून बमोजिम विवाह हुन सक्ने अवस्था नरहेको पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन ।
कसैले पनि पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन । शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु एच.आई.भी. वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको, यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको, कुष्ठ रोगी होस ठेगानमा नरहेको, विवाह भैसकेको ब्यक्ति कानूनी रुपमा बिवाह गर्न योग्य हुदैन । कसैले झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ ।
पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको विवाह, ऐनको दफा ७० को उपदफा १ को खण्ड घ विपरीत भएको विवाह, कानून बमोजिम अंशवण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह स्वतः बदर हुने ब्यवस्था कानूनले गरेको छ । उपरोक्त कानूनले तोकेको शर्त बिपरित गरिएको विवाह प्रारम्भ देखि नै अमान्य हुनेछ । कानूनले निषेध गरेको अवस्थामा र बालबिवाह, बहुबिवाह गरेमा पति पत्नीको कानूनी हैसियत प्राप्त हुदैन । कानूनी हैसियत नभए पछि पति पत्निको हैसियतले पाउने अधिकार पनि पाउन सकिदैन ।
झुक्याई विवाह गरे वा गराएमा त्यस्तो विवाह गर्ने कुनै व्यक्तिले मञ्जुर नगरेमा बदर गराउन सक्ने कानूनी ब्यवस्था रहेको छ । बिवाह सम्बन्धी कानूनी ब्यवस्थामा जुनसुकै कुरा लेखिएको भए तापनि विवाहको परिणाम स्वरूप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र विवाह बदर हुन सक्नेछ भनीएको छ ।
बिवाह सम्बन्धी कानूनमा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ भन्ने ब्यवस्था रहेको छ । माथी जे कुरा उल्लेख गरिएता पनि तर देहायको अवस्थामा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको भए पनि सोही कारणले पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने छैन भनीएको छ । जस अनुसार जवरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा, कानून बमोजिम विवाह गर्न हुने नाता सम्बन्धमा बाहेक हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा, २० बर्ष उमेर पुरा नभएमा, बहुविवाह कायम हुने अवस्था भएमा त्यस्ता पुरुष र महिला बीच स्वतः विवाह भएको नमानिने कानूनी ब्यवस्था गरिएको छ ।
तर बिवाह बदर हुने अवस्था भएता पनि जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्ने ब्यवस्था कानूनले गरेको छ । विवाह वदर भएमा वा वदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेकोे शिशुको कानून बमोजिमको हकमा कुनै असर पर्ने छैन भन्ने कानूनी ब्यवस्था रहेको छ ।
पति तथा पत्नीले कानून बमोजिम तोकिएको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाह दर्ता गराउनु पर्नेछ । यसरी बिवाह दर्ता गराए पनि आधिकारीक रुपमा पति पत्निको कानूनी मान्यता पाउन सहज हुन्छ । नेपाल बाहिर बसोबास गरेका पति तथा पत्नीले आफू रहे बसेको मुुलुकमा रहेको नेपालको राजदूताबास वा महावाणिज्य दूताबासमा विवाह दर्ताको लागि निवेदन दिन सक्दछन । विवाह दर्ता गराउने सम्बन्धमा कुनै एक पक्ष उपस्थित नभएकोमा सम्बन्धित अधिकारीले निजलाई बुझी विवाह दर्ता गर्न सक्दछन् । बुझ्दा अर्को पक्षले विवाह दर्ता गर्न असहमति जनाएमा सम्बन्धित अधिकारीले विवाह दर्ता नगरी अदालतबाट निर्णय भए बमोजिम हुने जानकारी निवेदकलाई दिनु पर्दछ । विवाह दर्ता नगराएको कारणले मात्र त्यस्तो दम्पतिको विवाहले कानूनी मान्यता नपाएको भने मानिने छैन भनीएको छ ।
कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तीमा दुई जना साक्षीको नाम समेत खुलाई नेपालभित्र भए सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदूताबास वा महावाणिज्य दूताबास समक्ष निवेदन दिन बिवाह दर्ता गराउन सक्ने कानूनी ब्यवस्था रहेको छ ।
विवाहिता महिलाले विवाह पछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछिन । विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ । पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन । कानून बमोजिम विवाह बदर भएमा, कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा, पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा त्यस्तो विवाह गर्ने कुनै व्यक्तिले मञ्जुर नगरेमा बदर गराउन सक्ने कानूनी ब्यवस्था रहेको छ ।
पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा, पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्ने कानूनी ब्यवस्था छ ।
कुनै पुरुष र महिला बीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिनेछ । पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु पर्नेछ । आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पर्नेछ । पति र पत्नीले एक अर्कालाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्नेछ । पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ । कानूनमा अन्यथा व्यवस्था भएकोमा वा पति र पत्नी बीच कानूनी विवाद भएकोमा बाहेक सामान्य घर व्यवहारको काममा पति वा पत्नी एक अर्काको प्रतिनिधि रहेको मानिनेछ । पति वा पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ । एकासगोलका पति र पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियत अनुरूप आपसी सहमतिको आधारमा घर व्यवहार चलाउनु पर्नेछ । पति वा पत्नीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक अर्काको मञ्जुरी लिनु पर्नेछ । पति वा पत्नी वा परिवारका कुनै सदस्यले एक अर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक लगाउन हुँदैन ।
लेखक अधिवक्ता हुन ।