महानगरका मेयरविरुद्ध किर्ते मुद्धा दर्ता

वीरगंजका मेयर राजेशमान सिंहसहित तीनजनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फैजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ । झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध परेको जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको हो ।

८३७ दर्ता नम्बर रहेको यस अभियोगअन्तर्गत अब सिफारिस गर्ने किर्ते गराउनेलगायतमा अनुसन्धान सुरू हुनेछ । गृह मन्त्रालयको नेतृत्व परिवर्तन हुने बितिकै पर्सा प्रहरीले महानगर प्रमुखविरुद्धको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरूद्ध जाहेरी दर्ता भएको डिएसपी कुमारविक्रम थापाले जानकारी दिए । मेयर सिंहविरुद्ध लियाकत अलीले किर्ते सम्बन्धमा जाहेरी दिएको डिएसपी थापाले बताए ।

वीरगंज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कात्तिक २० गते जन्मदर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको हो । जिल्ला प्रशासनको अभिलेखमा २०७५ साउन १३ गते नागरिकता लिएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिन्छ । प्रहरीले यस सम्बन्धमा अब अनुसन्धान गर्ने जनाएको छ । मुलुकी अपराध संहिता २०७४ ले सकैले किर्ते गर्न नहुने भन्दै लिखत किर्ते सम्बन्धमा परिभाषा गरेको छ । कसुर प्रमाणीत भएमा संहिताको दफा २७६ को उपदफा (३) को (ग) ले सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।

Exit mobile version