निडर नारीः खारा लडाइँको अनुभूति र स्मरण

रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भइन् । विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन् । अन्याय अत्याचारविरुद्ध युद्ध गर्नुपर्छ भन्ने पारिवारिक पृष्ठभूमिमा जन्मेकी उनी चौथो डिभिजन २६ नम्बर बटालियन ए कम्पनी कास्कीकी एक निडर र आत्मविश्वासी लडाकु थिइन् ।

जुना युद्ध हुँदा गरिने निरन्तर अभ्यास गर्दै थिइन् । एकाएक दुस्मन (आर्मीः द्वन्द्वमा आर्मी, प्रहरीलाई दुस्मन भनेर माओवादीले चिन्थ्यो) सँग भिड्न जाने हल्ला भयो । युद्धमा लागेकालाई लड्नु र भिड्नु नौलो थिएन । जुनाले पनि नौलो मानिनन् तर मन अमिलो भएको अनुभूति उनले सुनाइन् । युद्ध कहाँ र कुन समयमा हुने कमाण्डरले केही भनेनन् । त्यतिबेला कमाण्डरले जे भन्यो त्यही मान्नुपर्थ्यो । अरुले कहाँ कतिबेला लड्ने चासो दिएनन् । आक्रमण गर्ने ठाउँ गोप्य राखिएको थियो । आक्रमण हुनुभन्दा १५ दिन अगाडि नै चौथो डिभिजन २६ नम्बर बटालियन ए कम्पनी टोली कास्कीबाट हिँड्यो । पैदल हिँड्नु पर्दा जुनाका खुट्टामा फोकैफोका भए । खुट्टाभरि फैलिएका फोकाको दुखाइभन्दा उनलाई भिडन्त जित्नु थियो । कास्कीबाट हिँडेको करिब १२ दिनपछि उक्त टोली रोल्पा पुग्यो । जुनालाई रोल्पाको कुन ठाउँ हो अहिले याद छैन । त्यहाँ आक्रमण गर्ने ठाउँको नक्सा प्रस्तुत भयो । तर ठाउँको नाम भने गोप्य नै राखियो ।

रोल्पाबाट रुकुमतिर अगाडि बढ्ढा जुनालाई रुकुम पुग्न लागेको आभाष भयो । तर उनले रुकुम जान लागेको भनेर कसैलाई पनि जिज्ञासा राखिनिन् । रुकुम र सल्यानको सिमाना पर्ने खौलाबाट उक्त टोली रुकुम प्रवेश गर्यो । १५ दिनपछि त्यहाँ पुग्दा युद्ध सुरु भइसकेको थियो । बम बारुद्धका आवाज गुञ्जमान थिए । उनले आफैँ पहिचान गरिन् रुकुमको खारा ब्यारेक आक्रमणको निशानामा परेको रहेछ । युद्धको स्थान नक्सामा चित्रण गरिएको थियो तर नाम उल्लेख गरिएको थिएन ।

‘करिब रात पर्नै लागेको थियो,’ उनले खारा घटना सम्झँदै भनिन् । आफ्नै भूमिमा लड्दा उनलाई पछाडि घट्न मन लाग्यो । तर युद्धमा सहभागी भएकी उनी लड्नुको विकल्प थिएन । उनको टोली रुकुम र सल्यानको सिमाना खौला हुँदै खाराको खुम्चेरी पुग्यो । जुनाको समूह तेस्रो टोली थियो । पहिलो सुरुमा आक्रमण गर्ने । दोस्रो पहिलालाई सहयोग गर्ने र दोस्रोले नसके तेस्रो टोलीबाट सहयोग मागिन्थ्यो । त्यसरी टोलीको वर्गीकरण गरिएको थियो ।

उनले फायरिङ गर्न नपाउँदै उनकै अगाडि रहेका साथी नेपाली सेनाको गोली लागेर ढले । आँखैअगाडि त्यस्तो देख्दा उनीमा विद्रोहको भाव पैदा भयो । उनी युद्धमा अगाडि बढिन् । रातभरि नखाइनखाई युद्ध लडिन् । उक्त समूहमा २५ जनाको टोली थियो । खुम्चेरी पुग्दा अरु लडाकु पनि थिए । आर्मीलाई घेरा हालिएको शंकामा खुम्चेरीबाट पनि लडाकुहरू आर्मी ब्यारेकतिर अगाडि बढे । जुनाको टोलीले एकोहोरो फाइरिङ गरिरह्यो । ‘अब गोली लाग्यो भन्दाभन्दै आर्मीको गोली आँखै अगाडिबाट जान्थ्यो,’ उनी विगत सम्भन्छिन्, ‘त्यतिबेला मर्नु ठूलो कुरा थिएन, युद्ध जित्नु ठूलो थियो ।’ चारवटा ग्रीनेट, एक राइफल र गोली जुनाले बोकेकी थिइन् ।

युद्ध बिहान ६ बजेसम्म चलेकै थियो । ‘त्यतिबेला हार र जित थाहा नै भएन,’ उनले भनिन्, ‘माओवादी लडाकु ब्यारेक कब्जा गर्न गएपछि हाम्रो टोली ब्याक भयो ।’ उक्त टोलीलाई दिएको समय सकिएपछि युद्ध जितियो भन्दै उक्त टोली पुनः रोल्पा हुँदै कास्की जाने गरी युद्धबाट फर्किए । साँझदेखि बिहानसम्म लड्ने उक्त टोलीलाई भनिएको थियो । केही समयपछि बाटोमा मात्रै उक्त टोलीले युद्ध हारेको थाहा पायो । फर्किंदा बाटोमा आर्मीसँग दुईपटक भिडन्त भयो । उनलाई त्यतिबेला खुट्टामा गोलीको छर्रासमेत लागेको थियो ।

२०६१ चैत २५ गते दोस्रोपटक रुकुम पश्चिमको खारामा सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीबीच दोहोरो भिडन्त भएको थियो । उक्त भिडन्तमा माओवादीले ठूलो हार व्यहोर्नु पर्यो । युद्धबाट फर्किएर आउँदा माओवादी पृष्ठभूमिमै रहेकी जुनालाई घरमा घुलमिल हुन समस्या भएन । अहिले उनको सल्यान दार्मा गाउँपालिका–४ भलचौरमा विवाह भएको छ । स्वच्छिक अवकास लिएकी जुना अहिले सक्रिय राजनीतिमा छिन् । उनी उक्त गाउँपालिकाको पूर्व कार्यपालिका सदस्यसमेत हुन् । खाराजस्तै जुनासँग धेरै लडाइँका भोगाइ छन् । उनी पूर्वलडाकु हुँदा साना ठूला थुप्रै लडाइँ लड्ने पर्यो ।

Exit mobile version