बाचुन्जेलसँगै बस्ने र सुख दुःखमा साथ दिने जो कोही विवाहित जोडीको बाचा हुन्छ । दुःख हुँदा साथ दिने र खुसी हुँदासँगै रमाउने कुन विवाहित जोडीको सपना नहोला, तर दैलेख भैरव-३, कोइराला गाउँकी मट्टु तिमिल्सेनाको भने बाचा पूरा भएन । विवाह बन्धनमा बाँधिएको १८ वर्षपछि श्रीमानले दोस्रो विवाह गरे ।
दुई छोरीलाई जन्म दिएकी मुट्टुका श्रीमान अर्कैसँग सम्बन्ध गाँसेपछि अहिले उनी मानसिक सन्तुलन बिग्रन पुगेकी छिन् । उनी मात्र होइन कैलाली जैसपुर (हाल सुर्खेत वीरेन्द्रनगरमा बस्ने) की करिव ३९ वर्षीया लीला नेपालीको जीवनमा पनि श्रीमानसँगै सुख दुःख साट्ने बाचा पूरा भएन, फलस्वरूप उनी पनि अहिले मानसिक समस्यामा छिन् । यति मात्र होइन, मुट्टु र लीला आर्थिक अभावले आफ्नो रोग पाली रहेकी छन् ।
लीलालाई उपचारका लागि प्रदेश अस्पताल छोरा छोरीले लिए । त्यहाँ सिटीस्क्यान गर्दा उनको रोग पत्ता लागेन । उनको रातिमा टाउकाको नशा सुन्निने, मानसिक सन्तुलन गुम्ने जस्ता क्रियाकलाप देखिने समस्या छ । चिकित्सकले रोग पत्ता लगाउन नसक्दा उपचार गर्ने छोरा छोरीको सपना तुहियो । आमाकै उपचार गर्न १६ वर्षीया लक्ष्मीले विद्यालय छोड्नु प-यो । उनी कक्षा ९ मा भर्ना भएकी थिइन् । ‘पैसा नहुँदा आमाको उपचार हुन सकेन,’ लक्ष्मीले भनिन्, ‘आर्थिक अभावले विद्यालय जान सकेको छैन, परीक्षा दिनमात्र जानुपर्ला ।’ विद्यालय जानुभन्दा मजदूरी गर्दा आमालाई बचाउन सकिने भन्दै विद्यालय जान छोडेको उनी बताउँछिन् ।
मुट्टुलाई पनि उपचार गर्न अहिले समस्या छ । श्रीमानले दोस्रो विवाह गरेपछि मानसिक रोगको सिकार भएकी उनको उपचारमा समस्या भएको छ । उनको एउटा छोरी आफन्तकहाँ बस्दै आएकी छिन् भने अर्की छोरी आफैँसँग बस्छिन् । ‘गरिबीले साँझबिहानको छाक टार्नै समस्या छ,’ मट्टुका आफन्त पुष्पराज तिमिलसेनाले भने । वीरेन्द्रनगरकी जयसरा सुनार पनि श्रीमानले दोस्रो विवाह गर्दा मानसिक समस्याबाट पीडित हुनु पर्यो । अहिले उनी वीरेन्द्रनगरमा नरकीय जीवन बिताउन बाध्य छिन् । होटेल तथा पसलमा गएर मागेर खानु र राति सडकमा सुत्नुबाहेक अरु उनीसँग विकल्प छैन् ।
उनीहरूजस्तै कर्णालीका धेरै महिलाले श्रीमानले दोस्रो विवाह गर्दा मानसिक अवस्था गुमाउनु परेको छ । श्रीमानले दोस्रो विवाह गर्दा हाल कति महिलाले मानसिक सन्तुलन गुमाउनु पर्यो त्यो तथ्यांक अहिलेसम्म छैन । आफूलाई भन्दा श्रीमानलाई धेरै माया गर्ने महिलाले बिछोडमा होस् नै गुमाउँदा उनीहरूका बालबालिका समस्यामा पर्ने गरेका छन् । बालविवाह, बैदेशिक रोजगार, अशिक्षा र गरिबीले कर्णालीमा सम्बन्धविच्छेदका घटना हुने गरेका छन् ।
कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका ६ दशमलव ७ प्रतिशत महिलाहरू पहिलोपटक गर्भवती हुने गरेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा २०७५/७६ मा पाँच सय ५० जनाले सम्बन्धविच्छेद मुद्दा दर्ता गराएका छन् भने चार सय २५ जनाले शुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको जिल्ला अदालत सुर्खेतले जनाएको छ । यसमा अधिकांश बालविवाह र बैदेशिक रोजगारी कारण बनेको देखिन्छ ।
त्यस्ता महिलाहरूका लागि राज्य उपचारको व्यवस्था गर्नुपर्ने महिलाअधिकारकर्मी देवीसरा विकले बताइन् । ‘श्रीमान छोड्दा महिलाहरू ठूलो आर्थिक समस्यामा पर्छन्,’ उनले भनिन्, ‘त्यसैले राज्यले पनि उनीहरूको बारेमा केही सोच्नुपर्छ ।’ महिलाहरूलाई पनि आत्मनिर्भर बनाए यसबाट केही छुटकारा हुने कृष्णा हमालले बताइन् ।
‘श्रीमानले छोड्दा महिलामा ठूलो भार भनेकै आर्थिक हो,’ उनले भनिन्, ‘उनीहरूलाई आत्मनिर्भर बनाए समस्या कम हुन्छ ।’ उनीहरू कामले अन्य कुरा सोच्न नपाउने भन्दै उनले आत्मनिर्भर हुने रोजगारीका कार्यक्रम पनि दिनु पर्ने बताइन् । श्रीमानले छोड्दा धेरै महिलाले मानसिक सन्तुलन गुमाउनु परेको छ । त्यसपछि उनीहरू आफन्त र घरपरिवारमा टाढा हुने गरेका छन् । पछिल्लो नियममा दोस्रो विवाह गरेको थाहा पाए उक्त विवाह स्वतः बदर हुने व्यवस्था छ । महिला कानूनी उपचारको बाटोभन्दा मानसिक तनावमा धेरै हुने हुँदा यस्ता समस्या देखिन्छ । कानुनमा जानीजानी दोस्रो विवाह गरेमा केटाकेटी दुवैलाई समान दण्ड जरिवाना तोकिएको छ । त्यस्तो अवस्थामा एक वर्षदेखि पाँच वर्षसम्म कैद १० देखि ५० हजारसम्म जरिवानाको छ ।