शिवालयमा दुःखी छन् ‘नन्दी’ हरु

मित्रलाल सापकोटा

आज महाशिवरात्री ! प्रलयका देव, महादेव शिवको बिशेष दिन । सबैले आ आफ्ना नजिकका शिवालयहरुमा महादेवको पूजा गरेर नन्दीहरुले आआफ्नो नन्दीग्राम शान्तिको कामना गर्दैछन् । शिवस्वरुपको शक्तिमा आस्था राख्दैछन् । श्री पशुपतिनाथमा आज बिभिन्न रुपमा लाम लागेका छन् उनै शिवसँग साक्षात्कार गर्न । देशैभरिका शिव मन्दिरहरुमा आज भीड लागेको छ शिवको खोजीमा ।

नेपाल कैलासपति महादेवको बासस्थानको रुपमा रहेको शिवभूमि भएकोले पनि नेपाली माटोको कणकणमा शिव भेटिनुहुन्छ । यहाँको हरेक धर्म सम्प्रदायका आनिबानी व्यवहार आहारबिहार आचार विचारमा कतै न कतै शिवशक्तिको प्रभाव छ भन्न सकिन्छ । यहाँबाट बग्ने नदिनालाका हरेक धाराधारामा पनि भगवान शिव कै सुन्दरता छ । यहाँको प्रकृति मात्रै होइन सँस्कृति नै शिवमय बनेर विकसित भएको हो भन्ने कुरा कसैले मिथ्या बनाउन चाहेर पनि बन्दैन । यहि शिवभूमिमा ध्यान नगरी आजसम्मका कुनैपनि साधकहरुको साधना पूर्ण शायदै भएको होला । जुनसुकै सम्प्रदायका साधकहरु ह्ुन उनीहरुले एक न एकपटक यो शिवभूमिको माटोमा पाइला नराखि उनीहरुको साधनाले मूर्तरुप लिन सकेको छैन होला । यस्तो पावन भूमि भएकै कारण सिँगो नेपाल नै शिवालय हो । सत्यम शिवम् सुन्दरम् भूमि नेपाल नै हो । हामी यहि भूमिका नन्दी हौं ।

नेपाल प्राकृतिक बिलक्षणताको भूमि हो । शिवजीको कैलासको वर्णन गरिएको कुनै ठाउँ छ भने त्यो ठाउँ नेपाल नै हो । भगवान शिव प्रकृतिका देवता हुनुहुन्छ । वहाँलाई पूज्नेहरुले अप्राकृति वस्तुहरु, अप्राकृति पाकवानहरुको प्रयोग गर्नु हुँदैन र सच्चा शिवभक्तले गर्दैनन् पनि । शिवजी प्रकृतिका देउता भएकोले वहाँलाई अप्राकृति सृँगार मन पर्दैन । अप्राकृतिक दुनियाँमा रमाउनेहरुले शिवलाई न त बुझ्न सक्छन् न पुज्न सक्छन् । यसकारण पनि प्रकृतिको रक्षा गर्नु शिवको साधना गर्नु पनि हो ।

नेपाल तपोः भूमि हो । ध्यानको केन्द्र हो । शिव ताण्डण शक्ति सहनशक्ति रहेको भूमि हो । शिव ध्यानका देवता हुन् । साधनाका प्रतिक हुन् । ताण्डव नृत्यका श्रोत हुन् । बिष नियन्त्रण गर्ने, जल अग्नि उत्पन्न गर्ने, वायु दिनेलिने शक्ति शिव हुन् । संसारको रुप, स्वरुप, र शक्तिको रुपमा शिवलिंग छ । प्रकृति शिवबाट शुरु हुन्छ । प्राणी प्रकृति कै कारण अस्तित्वमा रहन सक्छ । यसैले शिव नै सत्य हो शिव नै शक्ति हो, शिव नै संसार हो, शिव नै सुन्दरता हो । अनि नेपाल भनेको शिवको स्थान हो । शिवको साधक भूमि हो । शिवालय हो ।

यो शिवालयमा रहेका प्राणीहरु शिवका नन्दीहरु हुन् । नेपालका सबै प्राणी, सिंगो नेपाली जनता शिवबाट संरक्षित नन्दीहरु हुन् ।

आज यो शिवालयको सुन्दरता भत्काउने प्रयास भएको छ । शिवको प्रकृतिमा बिध्न हाल्ने काम भैरहेको छ । कथित विकासको नाउँमा डोजेर विकासप्रेम बनेर कैसालहरु भत्काइँदै छ । शिवालयको वनविहारलाई मासिँदै छ । अनि शिवधारालाई सुकाउने काम भएको छ ।

शिवालयमा अतिक्रमण भएको छ । शिवालयमा अप्राकृतिक चीजविजहरुको प्रवेश गराइएको छ । सत्यम शिवम् लाई असत्यको खास्टो ओढाएर कुरुप बनाउने प्रयास भएको छ । पशुपति देखि मल्लिकार्जुनसम्म, कैलासदेखि कुम्भसम्म दैत्यहरुको ज्यादति चलिरहेको छ । शिवकै धर्तीमा, शिवलाई गाली गरेर शिवत्व कै बिरुद्धका सम्प्रदायहरुको प्रचार गर्दै उनैको संरक्षणलाई विधर्मीको पीण्ड दिने खतिउपति चलाउँदै शिव आदेश विरुद्ध नेपालको वैभवता खोज्ने दुस्साहस गरिँदैछ । यो देखेर शिवालयका नन्दीहरु दुःखीत छन् ।

नेपाल त संसारको मुख्य शिवालय हो । संसारको शिर हो । यहाँबाट नै संसारको प्रकृति र सँस्कृति शुरु हुन्छ । किन कि भगवान शिवबाट जल र जलबाट प्राणी सम्भव हुन्छ । संसार बिनाशक बिषको नियन्त्रण पनि शिवबाट हुन्छ यसैले शिवभूमि नेपाल आफैमा संसारको नै मुख्य शिवालय भूमि हो । नेपालको अस्तित्वसँग संसारको अस्तित्व जोडिएको छ । यसैले नेपाल संसारको लागि महत्वपूर्ण छ । रहनुपर्छ । यहाँबाट शिव बिरुद्धका सबै कामको अन्त्य गरिनुपर्छ ।

पछिल्ला दशकहरुमा नेपालमा अनेक शासक भए अनेक व्यवस्था आए । अहिले पनि छन् । तर उनीहरुले जतिसुकै कथित राम्रा कुरा गरेपनि र निकै उक्त शासन व्यवस्थाको वकालत गरेको भन्ठानेपनि उनीहरुबाट शिवालय (नेपाल) का नन्दी (जनता र प्राणी) दुःखी नै भैरहेका छन् । शिवालयमा चलेको उनीहरुको लूटको धन्दामा नन्दीहरु शोषणमा परेका छन् । नन्दीको पीडा नदेख्ने दुष्टहरुको आचारबिचार र हैकमले भगवान शिवको साधनामा व्यवधान पुर्याएको छ । शिवालयमा अनिश्चयको वातावरण बनेको छ ।

आज यस शिवालयमा नन्दीहरुका वास्तविक नाचहरु छैनन् । प्रकृतिलाई खुशी बनाउने धुनी पनि लागेको छैन । शिव पार्वतीसँग हुनुहुन्न । शिवलाई अलग्याएर पार्वतीहरुलाई शिवत्व र देवत्व भन्दा बाहिरको अप्राकृतिक मैदानमा होमिएको छ । प्रकृतिबाट बिमूख बनाएर शिवालय भन्दा बाहिरको रछ्यानमा फाल्ने काम भएको छ । सत्यको शिवालय भित्र असत्यको धन्दामा नाचिरहेका दैत्यहरुको कारण आज महाशिवरात्रीको दिन पनि शिवालयमा अँध्यारो छ । शिवलिंगहरुमा दुषित दुध र जल अर्पण गरेर सदिक्षाको कामना गर्ने प्रयास भैरहेको छ । यो देखेर भोगेर शिवालयका नन्दीहरु दुखि भैरहेका छन् । दैत्यहरुको अनैतिक नाचको अन्त्य गर्न उनै भगवान शिवको ताण्डणको कामना सहित नन्दीहरु लामबद्ध भएर उभिएका छन् ।

महाशिवरात्री पर्वको हामी सबै नन्दीहरुलाई हार्दिक शुभकामना । भगवान शिवको नेपाल नामक शिवालयको रक्षाका लागि र यहाँका नन्दीहरुको रक्षाका लागि छिटै तेस्रो नेत्र खुलोस् । जय शम्भो !

नोटः यो लेख शिवारात्रीको दिन प्रकाशित हुने भएकोले भगवान शिव भूमि नेपाल र यहाका जनता, यहाँको प्रकृतिलाई भगवान शिवको संसारसँग तुलना गर्दै प्रतिकात्मक रुपमा लेखिएको हो । यसले कुनैपनि शिवालय देवालय आदिको बारेमा केहि भन्ने खोजेको होइन ।

Exit mobile version