नेपाली कांग्रेस बाँकेले सचेत र जागरुक कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीतिअनुरुप कोहलपुरबाट पालिकास्तरीय प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना र नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा उक्त प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको हो ।
सबै पालिकामा एक दिने प्रशिक्षण कार्यक्रम हुने नेपाली कांग्रेस बाँकेले जनाएको छ । शुक्रबार नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बिरुवामा पानी हालेर प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे । सहमहामन्त्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाइँमा कांग्रेसको सुनौलो इतिहास रहेको उल्लेख गर्दै कांग्रेस कार्यकर्ता पनि पार्टीको वैचारिक सिद्धान्तसँगै समसायिक सवालमा पनि जानकारी र सचेत हुन जुरुरी रहेको बताए । उनले कांग्रेसको इतिहासलगायत विविध पाटोका साथै पार्टी सुदृढीकरणका आयामबारे प्रशिक्षण दिएका कार्यक्रममा सहभागी पत्रकार शुक्रऋषी चौलागाईले जानकारी दिए ।
यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवम् अधिवक्ता गुणनिधी शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद, तिर्थ पौडेलेले जन सरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादनलगायतका विषयमा प्रशिक्षण दिए ।
पालिका र वडा तहका विभिन्न पदाधिकारी सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ । थप पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिइन् । प्रशिक्षण शाखा सचिव थापामगरका अनुसार शनिबार राप्तीसोनारीमा प्रशिक्षण दिइने छ ।