आज मेनुका पौडेलको ‘लाइभ कन्सर्ट’

म मरे पनि मेरो देश बाँचिरहोस्… जसै झुमा लिम्बुले प्रेम प्रकाश मल्लको गीतमा स्वर र संगीत भरिन्, शनिबारको साँझ नेपालगन्ज रंगशाला गुञ्जाएमान भयो । पहिलो पटक नेपालगन्जमा आयोजित नेपाल कल्चर फेष्टिबलमा शनिबार झुमा लिम्बु, रैथाने र कुटुम्बका गीत, संगीतले गुञ्जाएमान भएको हो ।


म्युजिक फर हारमोनी भन्ने नाराका साथ अन्तरालले नेपालगन्जमा आयोजना गरेको नेपाल कल्चर फेष्टिबलको तेस्रो दिन नेपालगन्ज रंगशालामा झुमा लिम्बुका गीत र कुटुम्बका संगीत एकै ठाउँमा गुञ्जिएका हुन् ।


गायिका लिम्बुले देशका विभिन्न कुनामा गुञ्जिने लोकभाकाहरूलाई एकै ठाउँमा राखेर आफ्ना प्रस्तुतिलाई सुन्दर सांगीतिक मालाका रूपमा प्रस्तुत गरिन् । ‘लाग्थ्यो देशभरीका कला संस्कृतिहरू एकै मञ्चमा सजाइएका छन्’, शनिबारको प्रस्तुति नियालिरहेका स्थानीय युवा रूपन ज्ञवालीले भने ।


‘चौथो दिन आइतबार चर्चित गायिका मेनुका पौडेलको विशेष कन्सर्ट आयोजना गरिंदैछ’, नेपालगन्ज बिमानस्थलमा शनिबार दिउँसो पौडेलले स्वागत गरेपछि आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘एउटा ज्यूँदो सहरका लागि संस्कार, संस्कृति, भाषा, साहित्य र संगीतले प्राण भरेको हुन्छ, हामी त्यही प्राण भर्ने प्रयासमा लागि रहेका छौं ।’ उनले चार दिनसम्मको नेपाल कल्चर फेष्टिबलले दिएको अनुभवका आधारमा थप परिष्कृत गर्दै देशका अन्य भागमा पुग्ने आफ्ना योजना सुनाए ।


इन्डियन आइडलको पछिल्लो संस्करणमा प्रवेशसँगै नेपाली युवा गायिका मेनुका पौडेलको चर्चा विश्वभर चुलियो । फरक क्षमताकी पौडेल नेत्रहीन भएर पनि भारतीय चर्चित प्रतिस्पर्धीहरूलाई उछिन्दै सफल चरण पार गरेर त्यहाँको कला, संगीतको क्षेत्रमा उत्कृष्ट दरिन सफल भइन् । उनै मेनुका पौडेल आज आइतबार नेपालगन्ज रंगशालामा गुञ्जिंदैछिन् ।
‘यो एक हिसाबले अन्तर्राष्ट्रिय प्लेट फर्म हो’, शुक्रबार नेपालगन्ज आइपुगेकी गायिका लिम्बुले शनिबार आफ्नो प्रस्तुति दिनुअघि कुटुम्बको सांगीतिक टिम सँगै उभिएर प्रक्रिया दिंदै दैनिक नेपालगन्जसँग भनेकी थिइन्, ‘पहिलो पटक हामी एउटै मञ्चमा प्रस्तुति दिंदैछौं ।’
आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले एक दशकपछि कुटुम्ब नेपालगन्ज आएको र झुमा लिम्बुको गीतसँगै देशभरीका लोकभाका एउटै मञ्चमा राखेर ‘राष्ट्र जोड्ने अभियान’ सुरु गरिएको बताए ।


बिहीबार औपचारिक रूपमा सुरु गरिएको फेष्टिबलको आज प्रमुख प्रस्तुतिका रूपमा मेनुका पौडेलको लाइभ कन्सर्ट गरिने शाहले जानकारी दिए । शाहले चार दिने आफ्नो सांगीतिक अभियान बारे जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘नयाँ पुस्तालाई आफ्नो परम्परागत लोकभाका, संगीत बारे जानकारी दिने हाम्रो अभियान नेपालगन्जबाट सुरु भएको छ ।’ उनले नेपालगन्जलाई कला, संस्कृतिको क्षेत्रबाट पनि चिनाउन नेपाल कल्चर फेष्टिबल देशभर पुुर्याउन आवश्यक भएको औंल्याए ।

Exit mobile version