लुम्बिनी प्रदेशको टेबल टेनिस खेलको नेतृत्व बाँकेले लिएको छ । पहिलो पटक भएको लुम्बिनी प्रदेश स्तरीय भेलाले लुम्बनी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा बाँकेका विकास बहादुर सिंहलाई निर्वाचित गरेको हो । बाँकेबाटै कोषाध्यक्षमा जिल्ला अध्यक्ष प्रशान्त श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रदेश खेलकुद विकास समितिका नरेन्द्र थापाका अनुसार, उपाध्यक्षमा सन्दिप कुमार श्रेष्ठ (कपिलवस्तु) निर्वाचित भए भने पवित्रा खनाल (दाङ्ग)लाई उपाध्यक्ष मनोनित गरिएको छ । समितिको सचिवमा रमेश न्यौपाने (रूपन्देही) निर्वाचित भएका छन् ।
सदस्यहरूमा त्रिविक्रम जोशी (कपिलवस्तु), अविनाश पन्थी (बर्दिया), सुरेन्द्रसिंह राठौर (दाङ्ग) रहेका छन् । १३ सदस्यीय कार्यसमितिमा ३ सदस्य र १ उपाध्यक्ष मनोनित गरिएको हो ।
भिमसेन लहरेका अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अथिति लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी रहेकी थिइन् ।
‘प्रदेश स्तरमै टेबल टेनिसको बलियो जग बनाउन मेरो नेतृत्वले महत्वपूर्ण काम गर्नेछ,’ पहिलो पटक टेबल टेनिस संघको प्रदेश स्तरीय नेतृत्वमा पुगेपछि अध्यक्ष सिंहले दैनिक नेपालगन्जसँग भने, ‘बाँके जिल्ला पनि यो खेलका लागि निकै पोटेन्सियल स्पेस हो ।’ उनले विद्यालय स्तरबाटै खेलकुदको विकासमा आफुले जोड दिंदै आएकाले यो नेतृत्व थप सहयोगी हुने विश्वास व्यक्त गरे ।
हालै बाँकेमा भएको टेबल टेनिस संघको अधिवेशनले अध्यक्षमा प्रशान्त श्रेष्ठ पुनः निर्वाचित गरेको थियो । अधिवेशनले ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेका थियो । अधिवेशनले अध्यक्ष श्रेष्ठ सँगै विकास बहादुर सिंह र अरूण विक्रम शाहलाई प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गरेको थियो ।
बाँके कार्यसमितिको उपाध्यक्षमा अरूणविक्रम शाह र गौतमसिंह परियार, सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन गरिएको थियो । त्यस्तै, सदस्यमा विकास बहादुर सिंह, विकास राजभण्डारी, पुर्णकुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान चयन भए ।