सकियो नेपाल कल्चर फेष्टिवल

‘लाइभ कन्सर्ट’मा मेनुकाले दिएको उत्साह

दैनिक नेपालगन्ज

दक्षिण एसियामै लोकप्रीय गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेल एक महिना अघि गृह जिल्ला पुगिन् । यसबीचमा उनले केही नेपाल गीत बजारमा ल्याइन् । तर, उनी स्टेज कार्यक्रममा जान भने भ्याएकी थिइनन् । उनै मेनुकाले आइतबार पहिलोपटक नेपालगन्जमा स्टेज सेयरिङ गरेकी छिन् । त्यो पनि नेपालगन्जमा अन्तरालले आयोजना गरेको कल्चर फेस्टिबलमार्फत ‘लाइभ कन्सर्ट’ ।
गृह जिल्ला प्रवेश गर्दा नै मेनकाले नेपालको सांगीतिक क्षेत्रमा आफूले अझ बढी मिहिनेत गर्ने प्रतिक्रिया दिएकी मेनुकाले स्टेजमा सिमसिमे पानीमा ज्यानले बेइमान गर्छकी जिन्दगानीमा गीत गाइन् । पुराना हिन्दी हुन वा नेपाली जुनसुकै गीत गाउँदा दर्शकको भरपुर साथ पाइन् ।

दर्शकबाट नेपाली र हिन्दी दुवैको लागि हुटिङ आएपछि मेनुकाले एउटा हिन्दी र नेपाली पालैपालो गरी गाउने निधो दर्शकलाई सुनाइन् । ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने गीतलाई मेनुकाले न्याय गरेरै प्रस्तुत गरिन् । हिन्दीमा लता मंगेशकरका गीतमा खुलेर रमाएकी गायिका मेनुका नेपालीमा पनि उत्तिकै पोख्त प्रस्तुतिमा दर्शकलाई भरपुर मनोरञ्जन दिएर उत्साहप्रद बनाइन् ।
विहीवारदेखि आयोजित नेपाल कल्चर फेष्टिबल त्यही मञ्चबाट समापन गर्दै आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले नेपाली कला संस्कृतिलाई युवामार्फत् पुस्तान्तरण गर्न यसखालको आयोजना गरिएको बताए ।
यसअघि आइतवारनै पत्रकार सम्मेलनमा मेनुका पौडेल नेपालगन्जका पत्रकारका प्रश्नमा खुलेर प्रस्तुत भइन् । नेपालगन्जमा भएको यस फेस्टिबल आफ्नो पहिलो स्टेज कार्यक्रम भएको मेनुकाले बताइन् । ‘मेरा गीतहरु त्यतिधेरै हुटिङ गर्नेखालका हुँदैनन्,’ उनले भनिन्, ’मेरो आफ्नै विधा छ । तर, दर्शकलाई अन्याय चाहिँ गर्दिन् । उहाँहरुलाई भरपूर मनोरञ्ज गराउँछु ।’ इन्डियन आइडलमा पाएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा अहिले प्रयोगमा नआएको उनले बताइन् । उक्त चस्मा लगाएर एक घण्टा किताब पढ्ने इच्छा रहेको मेनुकाको भनाइ थियो ।

Exit mobile version