- सरकारले सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यि प्रदेश प्रमुखलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले मधेस प्रदेशका हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएर क्रमश सुमित्रा भण्डारी, डिल्लीराज भट्ट र नजिर मियालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिएको उनले बताइन् ।
- सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा रहेको कर्णाली पुलमा रोकिरहेको ट्रकमा आगलागी भएको छ । पूर्वबाट लाइटर लिएर पश्चिमतर्फ गइरहेक ना५ख ५२९५ नम्बरको ट्रकमा एक्सासी आगलागी हुँदा पुलमाथि समेत क्षति पुगेको छ । पुलमा क्षति भएपछि आवागमन केही दिनका लागि बन्द हुने भएको छ । वैकल्पिक सडकका रुपमा कोठियाघाट/सत्तीबाट आवतजावत गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर निरज शाक्यले बताए ।
- सत्ता जोगाउने कसरतमा रहेका सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । यससँगै सातजना प्रदेश सांसद रहेको नागरिक उन्मुक्ति पार्टीबाट एकजना राज्यमन्त्रीसहित पाँचजना मन्त्री सरकारमा सहभागी भएका छन् ।
- राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी प्रस्तावक र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् । मंगलबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ ।
- इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।
- गएको माघ महिनामा विद्युतीय प्रणालीमार्फत ४५ खर्ब चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । माघ महिनामा १० करोड ४८ लाख ६५ हजार तीन सय ३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब चार अर्ब तीन करोड ९० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो कारोबार तीन महिनाअघि अर्थात् कात्तिक महिनाको भन्दा झन्डै १० खर्ब रुपैयाँले धेरै हो ।
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
- र, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ ।