हङकङमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्ध ८५ रनको जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। ब्याटिङमा ५९ रन बनाएका भुर्तेलले बलिङमा ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित भए।
पिएनजीका लागि हिरीहिरीले २८ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक सेसे बाउले २१ रन तथा टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए।
नेपालका लागि कुशलले सर्वाधिक ४ विकेट लिँदा प्रतिश जिसीले २ विकेट तथा आकाश चन्द र गुल्सन झाले समान १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाएका थिए।
उनले करिअरको ८ औं अर्धशतक पुरा गर्दै टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने दोस्रो खेलाडीसमेत बने।
भुर्तेलले ३६ औं इनिङमा एक हजार रन पुरा गरेका हुन्। उनले यो बीचमा एक शतक र ८ अर्धशतक प्रहार गरेका छन्। टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने उनी दोस्रो खेलाडी हुन्। उनीअघि दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका थिए।
त्यस्तै, नेपालका लागि सन्दीप जोराले विस्फोटक अर्धशतक प्रहार गरे। जोराले २६ बलमा ५६ रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, बिबिके यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दा नेपालले उच्च स्कोर बनायो।
विववेकले ४ बलमा १९ रन बनाए। त्यस्तै, लगुल्सन झाले १२ बलमा १५ रन बनाउँदा लोकेश बम १४ रनमा आउट भएका थिए। पिएनजीका लागि आसाद भालाले २ विकेट लिँदा नोसाइना पोकना, जोन करिको र नोर्मन भनुवाले समान १-१ विकेट लिए।