यही फागुन पहिलो साता तीन दिने पोखरा बसाइका क्रममा लेकसाइडमै रहेर पनि मैले यसपटक फेवातालमा डुंगा सयर गरिन । पोखरा अन्तर्राष्ट्रिय म्याराथनले जुराइदिएको पोखरा भ्रमणमा नेपाल लिटरेचर फेस्टिभल मेरालागि थप बोनस बनिदियो । मलाई यी दुई इभेन्टले गर्दा पोखरा बसाइ वास्तवमा भ्याइनभ्याई नै भयो ।
मलाई लाग्यो, पर्यटकीय प्रवद्र्धन त स्तरीय इभेन्टले नै गर्दोरहेछ । म जस्ता थुप्रै थिए, जो डुंगा चढ्ने भन्दा म्याराथनको दुनियाँमा मग्न थिए, कित लिटेरचर फेस्टिभलको बहसमा आफुलाई समाहित गराइरहेका थिए । दुवै इभेन्टमा स्थानीय सहभागिता साँच्चिै लोभलाग्दो थियो । आयोजक सानो समुह थियो, तर लाग्थ्यो आयोजक सिंगो पोखरा हो ।
यता सफल पोखरा म्याराथनमा स्कुलेदेखि प्रोफेसनल धावकको सहभागिता उल्लेख्य थियो, त्योभन्दा पनि सडकमा खेलाडीको हौसला बढाउन लामबद्ध आमासमुहहरु, स्कुल, कलेज, अस्पताल लगायत संघसंस्थाको उपस्थिति बेजोड थियो । अनि लिटरेचर फेस्टिभलमा निर्मित दुई सभाकक्षमध्ये भुपी कक्षमा सात सय कुर्सी खचाखच भरिएर पनि उभिएर सुन्ने दर्शकको भिंडले जोकोहीलाई लोभ्याउने माहोल थियो । नेपालगन्जले पोखराबाट यस मामिलामा सिक्नुपर्ने देखिन्छ ।
पोखराको इतिहास नेपालगन्जभन्दा पुरानो हो । पोखरा आफुलाई सिंगो गण्डक प्रदेशको साझा सहरका रुपमा आफुलाई स्थापित गर्न सफल छ । यो धेरै सकारात्मक पक्ष हो । नेपालगन्ज देशको छैटौं पुरानो सहर हो । यसको आफ्नै गर्विलो विरासत छ । देशको नामबाट रहेको मोफसलको सहर सम्भवतः नेपालगन्ज विश्वमै एक हो । यो दुर्लभ पक्ष हो, दुर्लभको महत्व झन् बढ्ता हुन्छ, दुर्लभ पाटेबाघ जस्तै ।
लामो कालखण्ड नेपालगन्जले साविकका मध्य र सुदुरपश्चिमको मुकामका रुपमा नेतृत्वदायी भुमिकामा आफुलाई राखेकै हो । स्वास्थ्य, शिक्षा, खेलकुद र व्यापारका लागि नेपालगन्ज दुवै विकास क्षेत्रको केन्द्र थियो । बुटवल पश्चिमतिर हेर्दा झण्डै झण्डै आधा नेपालको भुगोलका बासिन्दा नेपालगन्जबाट दिक्षित नहुने बिरलै होलान् । अझ खेलकुदका सन्दर्भमा हेर्ने हो भने बृहत राष्ट्रिय खेलकुदका चौथो र आठौं संस्करण विवादरहित सम्पन्न भए । यो सन्देश नेपालगन्जले दियो । पञ्चायतकालीन अवस्थामा बाहेक विवादरहित बृहत राष्ट्रिय खेलकुद सम्पन्न गर्ने सहर नेपालगन्ज एकमात्र हो । यो मेरो व्यक्तिगत दाबी हैन । अभिलेखहरु साक्षी छन् । यस्तो सहरको बासिन्दा हुनुमा मलाई चाहिं गौरव छ ।
ठुला र स्तरीय इभेन्ट आम मानिसको निरासालाई चिर्दैं आशा जगाउने माध्यम हुन् । सहरलाई जीवन्त बनाउने भनेकै संसारकै अभ्यासमा प्राय इभेन्टले नै हो । यति चाहिं नागरिक अगुवाहरुले बुझ्नै पर्दछ ।
अहिले आम नेपालीमा निराशा छाएको छ । युवाहरु विदेशिने क्रम उल्लेख्य छ । युवाहरु देशमा केही हुँदैन भन्दैछन् । नेताले देश बिगारे, बर्बादै पारे, देश डुबाउन लागे भन्ने जस्ता भाष्य स्थापित हुन खोज्दैछ । व्यवस्थाको विकल्प खोज्ने पंक्ति पनि अगाडि आउन खोज्दैछ ।
नेपालगन्जका हकमा प्रदेश राजधानी नदिएर राज्यले बाँके बर्दियामाथि ठुलै अपराध गरेको भ्रम फैलाउन खोजिदैछ, । यसमै अल्झिनु नालायकीपन हो । किनकी राजधानी हुने भनेको एउटा सहर हो । तैपनि अस्वस्थ राजनीतिको मजा लिनेहरु र धमिलो पानीमा माछा मार्नेहरु यस बिषयमा सल्बलाउन खोज्छन् बेलाबेला । यिनको पहिचान खुल्दै जानेछ । किनकी यो जमात सधैं सर्वसाधारणलाई दिग्भर्मित पार्ने र गलत बाटो देखाउन तल्लीन हुन्छन् । ठुला इभेन्टका बेला यिनका मुहार उदांगो देखिन्छ ।
सम्भवतः आम निराशालाई चिर्दै आशाको उडान भर्ने भगिरथ प्रयासको उपज थियो नेपाल कल्चर फेस्टिभल, जुन चार दिनसम्म नेपालगन्ज रंगशालामा चल्यो । देश विदेशमा ख्याति कमाएको कुटुम्ब ब्याण्ड, झुमा लिम्बुसहितको रैथाने ब्याण्ड नेपालगन्ज आए ।
दक्षिण एशियाको सांगीतिक आकाशमा उदाउँदै गरेकी एक तारा मेनुका पौडेल पनि आफ्नो ब्याण्डका साथ नेपालगन्ज आइन् । चर्चित रियालिटी शो इन्डियन आइडलमा तहल्का पिटेकी मेनुकाको नेपालभित्र यो पहिलो कन्सर्ट थियो । यसमानेमा नेपालगन्ज भाग्यशाली हो । मेनुकाको सांगीतिक उडानमा नेपालगन्जले आफुलाई भविष्यमा समेत सदैव ब्रान्डिङ गर्न सक्दछ । कुटुम्ब र रैथानेको आगमनले देशविदेशमा एकपटक शानदार ढंगले नेपालगन्ज सुनिएको छ । सहरको ब्रान्डिङ भनेको सायद यही हो ।
स्पेनको एउटा प्रमुख सहर हो बार्सिलोना । तर संसारभरका मानिसहरु बार्सिलोनालाई एउटा फुटबल क्लबका हिसाबले चिन्दछन् । किनकी लामो समय संसारकै प्रिय फुटबलर मेस्सी यही क्लबबाट खेले । मेस्सी र बार्सिलोना पर्यायवाची जस्तै भए । संसारका फुटबलप्रेमीका लागि बार्सिलोना जीवनकालमा एकपटक नपुगी नहुने प्रमुख गन्तव्य अवश्य हो । यसरी सफल खेलाडी, सफल क्लबले पनि सहरको ब्रान्ड्रिङ यति उचाइमा गर्न सक्छन् भन्ने यो एउटा बलियो दृष्टान्त हो । नेपालगन्जसँग त्यो तहको सामथ्र्य अहिल्यै नहोला । तर ब्रान्डिङको अवधारण, योजना र सिर्जना हुनसक्छ, हुनुपर्दछ । नागरिक अगुवा यसका लागि एक ठाउँमा हुनैपर्दछ ।
सहर बनाउने सवालमा सचेत नागरिकले स्वस्फुर्त र स्वयंसेवी भावनाका साथ अग्रमोर्चामा उभिए सहरले समृद्धिको बाटो समात्ने हो । हाम्रो ठाउँ अरु कसैले बनाइदेला भन्ने भ्रममा बसियो भने भावी सन्ततिले हामीलाई सराप्नेछन् । संसारका हरेक समृद्ध देश त्यहाँका नागरिकले नै बनाएका हुन् । सरकार भनेकै नागरिक अगुवाको प्रतिनिधिमुलक आधिकारिक संस्था मात्र हो । सचेत, बुद्धिजीवी र नागरिक अगुवा निस्वार्थ एक ठाउँ उभिए जनप्रतिनिधिको कठालो समातेर पनि काम गराउन सकिन्छ ।
नागरिकका सपना, योजना र गन्तव्यलाई मुर्तरुप दिन सघाउने जिम्मेवारी भने राज्यका निकायको हो । उसले सामान्य सहयोग मात्र गरिदिए हुन्छ । त्यसको अपनत्व लिन र मध्यस्थ गरिदिन जहिल्यै तत्पर हुनुपर्दछ । संसारमा हुने ठुला इभेन्टलाई राज्यको ठुलो लगानी र साथ हुनेगर्दछ । तर इभेन्ट भने स्वायत्त हुन्छन् । आर्थिक नाफा घाटाको जिम्मेवारी आयोजक संस्था हुन्छ । इभेन्टको संरचना निकै भव्य हुन्छ । इभेन्ट आफैंमा स्वायत्त भएकै कारण संसारभर लोकप्रियताको शिखर आरोहण गरिरहेका छन् । बर्लिन फिल्म फेस्टिभल वा बर्लिन म्याराथन उत्कृष्ट उदाहरण हुन् । यस्ता अन्य धेरै इभेन्ट छन् । जसले सात दशक, पाँच दशक निरन्तर चलेर संसारभरको विश्वास आर्जन गरिरहेका छन् । इभेन्टको निरन्तरता विश्वास आर्जनको ठुलो कसी हो । यसले नै सबैलाई आकर्षण थपिरहेको हुन्छ । एउटा इभेन्ट स्थापित हुनु भनेको सिंगो सहर लाभान्वित हुनु हो ।
सहरको ब्रान्डिङहुनु भनेको पर्यटन प्रवद्र्धन हुनु हो । पर्यटकीय चहलपहलले नै सिंगो सहर र राष्ट्रको अर्थतन्त्र चलायमान हुने हो । अर्थतन्त्र चलायमान हुनुको मतलब रिक्सावाल, पानपसलदेखि पाँच तारे होटल, हवाई सेवा प्रदायक कम्पनीसम्म लाभान्वित हुने हो ।
हेर्नुस त, ठुलो इभेन्टले कसरी हरेक मान्छेको दैनिकीलाई लाभ दिन्छ । त्यो भन्दा पनि अमुल्य भनेको मानिसलाई खुशी दिन्छ । खुशी किनेर पाइदैन । यो फागुन २४ देखि २७ गतेसम्म रंगशालामा उपस्थित दर्शक केही समय भएपनि संगीतको सागरमा डुबुल्की मारे । शितलता महसुस गरे । मनोविज्ञानले पनि भन्छ–‘खुशी प्राप्ति गर्न हरेक मानिसलाई खेलकुद, सिनेमा, गीत संगीत जरुरी छ ।’
बढ्दो मोबाइल प्रयोगले पठन संस्कृतिमा ह्रास आइरहेको छ । सफलताको शिखर चुम्ने लोभमा आम मानिसको मुहारबाट खुशी हराउँदै गएको छ । बालबालिकाहरु डिप्रेसनको शिकार हुने खतरा झाँगिदो छ । तसर्थ स्तरीय इभेन्ट आयोजना तनाव व्यवस्थापनको प्रभावकारी माध्यम बन्न सक्छ । नागरिक अगुवाले बुझ्नुपर्ने यत्ति हो । साथैं, स्तरीय इभेन्ट सफल पार्न हरेक नागरिकले धर्म र कर्तव्य ठान्नु आजको आवश्यकता हो । मैले माथि भनिसकें नाफा र घाटाको सम्बन्ध मात्र आयोजकसँग होला । स्थानीयको जबर्जस्त सहभागिताले सहरकै इज्जत बढ्ने हो । सहर ब्रान्डिङ यसरी नै हुने हो । ठाउँले मुहार फेर्ने यसरी नै हो ।
चार दिने नेपाल कल्चर फेस्टिभलमा स्थानीयको सहभागिता निरस देखियो । फेस्टिभलले नेपालको विविध संस्कृतिका बारेमा दिन खोजेको सन्देश विद्यालयले बुझ्नै सकेनन्, वा बुझ्न चाहेनन् । वा, आयोजक समन्वय र सहकार्यमा चुक्यो, निर्मम समीक्षा जरुरी छ । जनप्रतिनिधिहरुको उल्लेख्य उल्लेख्य सहभागिता किन भएन ? उद्योगी, व्यापारी, पर्यटनकर्मी, शैक्षिक संघसंस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, डाक्टर, वकिल, पत्रकार, बैंकर र स्वघोषित नागरिक अभियन्ताहरुको पनि उत्साहजनक उपस्थिति देखिएन । पर्यटन व्यवसाय सुस्तायो भनेर रोइलो गर्नेहरुले इभेन्टको महत्व आत्मसात गर्नै सकेनन् । इभेन्ट अमुक व्यक्ति वा संस्थाको जस्तो ठानियो ।
बुझ्नुपर्ने के हो भने इभेन्ट केवल आयोजकको मुनाफाका लागि मात्र कदापि हुँदैन । मुनाफा त सानो अंश मात्र हो । जन्मभूमि र कर्मभूमिप्रति योगदान गरुँ भन्ने भावनाको रुप मात्र हो, यस्तो इभेन्ट । यसका लागि आयोजक अन्तराल र परिकल्पनाकार जयनारायण शाहलाई सिंगो सहरले धन्यवाद त दिनैपर्छ ।
यसअघिका हरेक परीक्षा पास गर्दै आएको नेपालगन्ज यसपटक चुकेकै हो । एकअर्कालाई दोषरोपण गरेर भाग्ने छुट अब कसैलाई छैन । आक्रामक प्रचारप्रसारमा आयोजकले कन्जुस्याईं गरेको होला तथा समन्वयकारी भुमिकामा हामी सबै चुकैकै हौं । यसको आत्मसमीक्षा हामी आफैंबाट गर्न जरुरी छ ।
स्कुलको बार्षिकोत्सवमा विद्यार्थीलाई सांस्कृतिक प्रहसनका नाममा पाँच हजार रुपैयाँ बढीको आर्थिक भार बर्षैपिच्छे अभिभावकको टाउकोमा बोकाउने विद्यालयले सिकाउन खोजेको संस्कृतिका बारेमा पनि अब प्रश्न उठाउने बेला आएको छ ।
सामान्य टिकट शुल्कमा पुर्वको च्याम्ब्रुङदेखि पश्चिमको देउडा र ठाडी भाका तथा कुटुम्बको बाजा सम्बन्धि जान्ने अवसरबाट विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई बन्चित गराएका छन् । विद्यार्थीका लागि यो ठुलो अवसर थियो । विद्यालय यसमा चुक्यो । कतिपय विद्यालय विद्यार्थीको प्रतिभा र क्षमता अभिवृद्धि गराउन सदैव तत्पर गम्भीर देखिन्छन्, उनीहरु पनि केकति कारणले अगाडि आउन सकेनन्, कारण खोज्न र भविष्यमा यस्तो अवस्था आउन नदिन हामीले आजैदेखि पहल गर्न जरुरी छ । किनकी विद्यार्थी भनेका हाम्रा भविष्य हुन् । देश भनेको भुगोल मात्र हैन, सांस्कृतिक पहिचान पनि हो । संस्कृतिले सिंगो देश जोड्ने काम गर्दछ । हरेक विद्यालयलाई यो बुझाउन यतिबेला अवसर थियो ।
समाजमा सकारात्मक र नकारात्मक सोंच भएका दुवै प्रवृत्ति छन् । नकारात्मक सोंच हावी भइदिदा नकारात्मक परिणाम निस्कने हो । सकारात्मक सोंच हुनेहरुले मुखामुख प्रचार (माउथ पब्लिसिटी) गरिदिए आयोजना आफैं भव्य बनिदिन्छ । मुखामुख प्रचारबाजीको लाभ कहिलेकाही फन्डाबाज र सेटिङबाजले उठाउने गर्छन् । यो पनि तीतो यथार्थ हो । फन्डेबाजीले सहरको वास्तविक ब्रान्डिङ चाहिं हुँदैन । फेसबुके अभियन्ताबाट सहर बन्दै बन्दैन । फेसबुक त केवल टुल हो । यसको प्रभावकारी सदुपयोग मात्र गर्ने हो । सहर बनाउन मनैदेखिको कर्म गरिनुपर्छ, पवित्र भावना हुनुपर्दछ ।
नेपालको छैटौं पुरानो सहरलाई जीवन्त राख्न २०७२ मंसिर ५ गते नेपालगन्ज म्याराथनले यात्रा आरम्भ गरेको थियो । जुन अहिले धारा नेपालगन्ज म्याराथनका नामबाट ख्याति आर्जन गर्न सफल भइसकेको छ । म्याराथनका सूचिमा शीर्ष तीनभित्रको इभेन्टका रुपमा सुचिकृत छ । शीर्ष खेलाडीको पहिलो रोजाइको म्याराथन बनिसकेको छ । स्तरीयता मापन गर्ने सवालमा सदैव एक कदम अगाडि बढेर इतिहास रच्न सफल भएको छ । एकहिसाबले देशभित्र नेतृत्वदायी भुमिकाको म्याराथन बनेको छ, जुन सिंगो सहरको गौरव हो ।
आज अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्ध बिस्तार गर्ने सवालमा समेत धारा नेपालगन्ज म्याराथनले अगुवाई गरिरहेको छ । यसबर्षदेखि विजेतालाई टीसिएस लन्डन म्याराथनमा सहभागिता गराउन सुनिश्चितता गरिसकेको छ । विश्वको शीर्ष ६ भित्र पर्ने लन्डन म्याराथनमा पचास हजार धावकको बीचमा दौडदा नेपालगन्ज सहरको इज्जत र शान त्यही हिसाबले स्थापित हुनेछ । यसका लागि सिंगो नेपालगन्जवासी, अझ भनौं बाँके जिल्लावासीलाई धन्यवाद दिनैपर्छ ।
स्वास्थ्य सम्बन्धि जागरुकता, दौडले समाज जोड्ने तागत र पर्यटन प्रवद्र्धनको माध्यमका बारेमा यहाँका शैक्षिक अगुवा, चिकित्सक, वकिल, पत्रकार सबैले आत्मसात गरेको अनुभूति हुन्छ । यहाँको नीजि क्षेत्रको पनि उत्तिकै साथ रहेको छ । सबैको साथ, सहयोग र सहकार्यका कारण धारा नेपालगन्ज म्याराथन शिखरतर्फ उन्मुख छ । यसकै सफलताको उपज यस बर्षदेखि नेपालगन्ज कनक्लेभ प्रारम्भ भएको छ । यसले बहस, छलफल र अन्तरक्रिया गर्ने प्रभावकारी मञ्च खडा भएको छ । कुनैबेला नेपालगन्ज लिटरेचर फेस्टिभल गर्दा सहरले खासै अपनत्व नलिएको सदभावको सहरमा नेपालगन्ज कनक्लेभमा उत्साहजनक सहभागिताका कारण आयोजकले थप परिस्कृत गर्दै अगाडि बढ्ने उर्जा प्राप्त गरेको पक्कै छ । कनक्लेभ पनि विविधतामुलक समाजलाई एक ठाउँ उभ्याउने प्रभावशाली मञ्च रहेको अनुभुति जिल्लावासीले गरिसकेका छन् । यस्तै साथ स्तरीय इभेन्टलाई दिने संस्कृतिको विकास जरुरी देखिन्छ ।
सकारात्मक सोंच, सहयोगी भावना र सहर बनाउने हुटहुटी भएको जमातले स्वयंसेवी ढंगले सहयोग मात्र गरिदिए आयोजकलाई उर्जा र उत्साह भरिदिन्छ । सर्वसाधारणलाई कार्यत्रमप्रति लगाव बढाइदिन्छ । यसले आयोजकलाई निरन्तर कर्म गरिरहने इच्छा हुन्छ । बृहत्तर सहभागिताका कारण ख्यातिप्राप्त कलाकारले लिएर जाने सन्देश कैयौ गुणा बढ्ता हुन्छ । सुपर नागरिकहरुले मनन् गर्नुपर्ने यही हो । ठुला इभेन्टका सवालमा जहिल्यै व्यक्ति गौण हुनेगर्दछ, इभेन्ट र त्यसले पार्ने प्रभाव नै प्रमुख कारक हुन् । सुपर नागरिक अर्थात नागरिक अगुवाले यति बुझेर सहभागिता र सहकार्यका लागि अघि बढिदिए मर्न लागेको मिडिया बाँच्छ, अर्थतन्त्रले लय समात्छ, समग्रमा सहर जीवन्त बन्छ । सिंगो ठाउँले जित्छ । सहरको एकता, सहकार्य र सहयोगी भावनाको विकासले सबैलाई समृद्धिको शिखरतर्फ आरोहण गराउँछ । खुशी र सन्तुष्टि त्यहीं भेटिनेछ । संघर्षशील जीवनको अन्तमा हामीले खोजेको पनि यही खुशी र सन्तुष्टि त हो । सबैलाई चेतना भया !