राँझाका सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सात हजार घुस रकम लिने क्रममा अख्तियारबाट रंगेहात पक्राउ परेका बाँकेस्थित सवडिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो ।

पार्धेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको रीसवतसम्बन्धी कसुर गरेकाले सात हजार बिगो रकम माग र तीन महिनासम्म कैद सजाय माग गर्दै आरोपपत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । पार्धेले काठ चिरानको लागि सिफारिस गर्न सेवाग्राहीसँग घुसरीसवत मागेको सूचना अख्तियारले पाएको थियो । सोही आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले सात हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।

Exit mobile version