- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मंगलबार साँझ उनले पदभार ग्रहण गरेका हुन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित भएका थिए । दाहालले ३९ मत ल्याएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका थिए ।
- सरकारले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार(फागुन २८ गते) बसेको बैठकले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएको हो ।
- नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको छ । समाजवादीले गठबन्धनमा सहकार्य बलियो बनाउन आफूलाई राष्ट्रिय सभा उपाध्यक्ष दाबी गरेको हो ।
- अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिन महिलाको हकमा उमेर सीमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष कायम गरिएको छ । तर सरकारले संसद्मा पेस गरेको प्रशासनसम्बन्धी मस्यौदा कानुनमा भने आयोगमा परीक्षाको आवेदन दिन अधिकतम उमेर सीमा महिला र पुरुष दुवैका लागि तीनतीन वर्ष कम गर्न प्रस्ताव गरिएको छ ।
- सात हजार घुस रकम लिने क्रममा अख्तियारबाट रंगेहात पक्राउ परेका बाँकेस्थित सवडिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो ।
- दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ वटा साना उद्योगको लगत कट्टा गरिएको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म उद्योग तथा वाणिज्यतर्फको निजी फर्म र सामुदायिक फर्म गरी ३७४ वटाको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिए ।
- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा बसेका छन् । व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको गेटमा मंगलबार धर्ना दिएका हुन् ।
- र, भारतको केन्द्रीय सरकारले सीएए नामको नागरिकता संशोधन ऐनका नियमहरू जारी गरेसँगै नागरिकताबारे संशोधित कानुन देशभर लागू भएको छ । मंगलबारदेखि लागू भएको कानुनअन्तर्गत सन् २०१४ को डिसेम्बर ३१ भन्दा पहिले पाकिस्तान, बङ्गलादेश वा अफगानिस्तानबाट भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र ईसाई समुदायका मानिसलाई भारतको नागरिकता दिइने बीबीसी हिन्दीले जनाएको छ । भारत सरकारले मुस्लिमबाहेक अरू धर्मका आप्रवासीलाई नागरिकता दिन बनाएको कानुन लोकसभा चुनाव नजिकिएको बेला लागू गरेको हो ।