महोत्सव आयोजना गर्दै घरेलु तथा साना उद्योग

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले नेपालगन्जमा महोत्सव आयोजना गर्ने भएको छ । आगामी चैत्र ६ गतेदेखि १८ गतेसम्म नेपालगन्जमा महोत्सवका आयोजना गर्न लागिएको हो । मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी सातौ प्रादेशिक औद्योगिक, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०८० को बारेमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मूल आयोजक समिति संयोजक मधु खड्काले मेहनत, सृजना, उत्पादन र बस्तुः मेरै नेपालको नारा सहित १३ दिनसम्म महोत्सव सञ्चालन हुने बताइन् । उनले महोत्सवमा २ सय ५० देखि ३ सय वटा नविनतम प्रविधिजन्य उत्पादनहरू, महिला तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरू स्टल रहने जानकारी दिइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उप–महानगर समितिको सहआयोजनामा हुन लागेको महोत्सवमा स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरूको उत्पादित बस्तुहरूको दिगो बजार पहुँच स्थापित गर्ने यस महोत्सवको उद्देश्य रहेकोले देश भित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, बनपैदावार, हस्तकला, उर्जा, बायोग्यास, लगायत पर्यटन, औद्योगीक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरू रहने संयोजक खड्काले बताइन् ।

महोत्सवमा चर्चित एवम् ख्याती प्राप्त राष्ट्रिय एवम् स्थानीय स्तरको सांस्कृतिक कार्यक्रम प्रत्येक दिन हुने जानकारी दिंदै आयोजकले मेला अवधि भरी करिब २ लाखलाई मेला अवलोकन गराउने लक्ष्य राखेको छ । महोत्सवमा विगतका बर्षहरूझै सांस्कृतिक कार्यक्रममा उत्कृष्टलाई प्रदान गर्ने नगद पुरस्कार भने आयोजकले यसबर्षदेखि हटाएको जानकारी दिएका छन् ।

‘नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र महिला उद्यमी समितिले लघु, घरेलु तथा साना उद्योग एवम कृषि क्षेत्रबाट उत्पादन भएका स्वदेशि वस्तुहरूको गुणस्तरियता पहिचान गराई उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापारको वातावरण बनाउन बिगतका वर्षहरूमा जिल्ला स्तरिय र क्षेत्रीय स्तरका ६ वटा व्यापार मेला एवं पर्यटन महोत्सव सम्पन्न गरिसकिएको सर्ववितितै छ’, मूल आयोजक समिति संयोजक खड्काले भनिन्, ‘यस क्षेत्रको ऐतिहासिक तथा सांस्कृक्तिक पहिचानसहितका संरचनाहरूको महत्वलाई अंकित गर्दै त्यसबाट यस क्षेत्रको समग्र आर्थिक विकास, सामाजिक उत्तरदायित्वको बोध र यसबाट सिङ्गो समाजका सबै पक्षलाई एकता र सद्भावकी सुत्रमा बाँध्दै सभ्य सामाजिक सस्कारको विकास गर्दै यहाँको विविध पक्षलाई उजागर गराउन र उद्योग, व्यवसाय, पर्यटन र कृषि क्षेत्रको श्रीवृद्धिका लागि टेवा पुयाउने ध्ययले पनि महोत्सवको आयोजना गर्न लागिएको हो ।’

Exit mobile version