बालबन्दीको उपचार गर्न अस्पतालसँग सम्झौता

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले मासिक रूपमा बालसुधार गृहका बालबन्दीको निशुल्क स्वास्थ्य परिक्षणमा गर्ने सवालमा जिल्ला बालन्याय समिति र अस्पतालका बिचमा सम्झौता भएको छ । दुवै अस्पताले महिनाको एक पटक सुधार गृहका बालकहरूको चेकजाँच र स्वास्थ्य उपचार गरि त्यसको प्रतिवेदन बालन्याय समन्वय समितिमा उपलब्ध गराउने बिषयमा सम्झौता भएको बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

सम्झौता अनुसार नौबस्ता बाल सुधार गृहमा रहेका कानूनको बिवादमा रहेका बालबन्दीलाई लक्षित गरि प्रत्येक महिनाको पहिलो शनिवार नेपालगन्ज मेडिकल कलेजबाट बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर्ने सहमति भएको बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए ।

सम्झौता अनुसार नौबस्ता बालसुधार गृहमा रहेका बालबन्दीको चेकजाँच र स्वास्थ्य उपचार गरिने सम्झौतामा हस्ताक्षर गरेका नेपालगंज मेडिकल कलेजका डा. रोमन किदवाई र कुमार अधिकारीले बताए ।

भेरी अस्पतालका मेसु पवनजंग रायमाझी र जिल्ला बालन्याय समितिका बिचमा जयेन्दु बालसुधार गृह आसमानपुर बाँकेका रहेका कानूनको बिवादमा रहेका बालबन्दीलाई लक्षित गरि प्रत्येक महिनाको दोश्रो सुक्रवार भेरी अस्पतालबाट बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर्ने सहमति भएको बालन्याय समिति बाँकेका सचिव एवं बाँके जिल्ला अदालतका श्रेस्तेदार गोबिन्द आचार्यले जानकारी दिए ।

मिति २०८०÷११÷२९ गते बाँके जिल्ला अदालतमा भएको सम्झौतामा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीस भिष्मराज प्रसाईं, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा, एड्भोकेसी फोरमका लुम्बिनी संयोजक वसन्त गौतम, सिविनका सिद्धराज पनेरु लगायत अन्य सरोकारवालाहरूको उपस्थितीमा सम्झौता भएको थियो ।

सम्झौता अनुसार, बाँकेका दुई अस्पताल भेरी अस्पताल नेपालगंज र नेपालगन्ज मेडिकल कलेज शिक्षण कलेजले बाँकेमा रहेका दुई बालसुधार गृहका बालबन्दीहरूको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारमा सहयोग गर्ने छन् ।

चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरको मिति २०८० भाद्र १८ गतेको निर्णय र केन्द्रिय बालन्याय समिति को २०८० फागुन २१ गतेको पत्रअनुसार बाँके जिल्ला स्थित बालसुधार गृहमा रहेका बालबन्दीहरूको शारिरीक तथा मानसिक स्वास्थ्यको कम्तीमा महिनाको एक पटक निमित स्वास्थ्य परिक्षण तथा उपचार गर्नेका लागी बाँकेका दुई अस्पतालसंग लिखित सम्झौता गरिएको बाँके जिल्ला न्याय समितिका अध्यक्ष एवं बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजका डा.रोमन किदवाई र कुमार अधिकारी, जयेन्दु बालसुधार गृहका प्रमुख बिमला काउचा मगर, नौवस्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर राना, बालन्याय समितिका सदस्यहरू सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, समाजसेवी अरूण कुमार सिंह लगायतको सहभागिता रहेको थियो । समितिको बैठकमा बालन्यायका बिभिन्न सवालमा छलफल गरेको थियो । बालसुधार गृहमा सुरक्षा चुनौतीको समिति गर्दै सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी र ब्यवस्थित बनाउन पहल गर्ने निर्णय गरेको छ ।

Exit mobile version