कर्णाली पुलमाथि गुडिरहेको लाइटर बोकेको ट्रकमा भएको आगलागीबाट पुलको ‘सपोट डोरी’मा बाहिर मात्रै क्षति पुगेको प्राविधिक टोलीले बताएको छ ।
पुलमा पुगेको क्षतिको चेकजाँच तथा अध्ययनका लागि पुगेका मध्य सडक डिभिजन कार्यालय बाँके नेपालगञ्जका डिभिजन प्रमुख निरज शाक्यले आगलागीबाट ‘सपोट डोरी’ का बाहिरी भाग (रबरहरू) जले पनि भित्री भागमा ठूलो क्षति नपुगेकाे बताए ।
‘पुलको सपोट लठ्ठीहरूका बाहिर रबरका भागहरू जलेको भए पनि भित्री भागमा त्यति ठूलो क्षति पुगेको छैन,’ सिडिई शाक्यले भने, ‘हामीले त्यसको प्रतिवेदनमाथि पठाएका छौं, माथिबाट आउने निर्देशन अनुसार अगाडि बढ्ने छौं ।’ सिडिई शाक्यले पुलमाथि उवडखाबड रहेका कारण त्यो ढलान तथा मर्मत गर्नका लागि चैत ३ गतेसम्म पुलबाट हुने सवारी आवागमन बन्द गरिएको बताए ।
लाइटर बोकेको ट्रकमा एकाएक सल्केको आगोका कारण पुलमा पनि क्षति पुगेपछि बुटवलबाट मंगलबार नै प्राविधिक टोली बर्दियाको कर्णाली पुल पुगेको थियो । प्राविधिक टोलीले आगलागीको क्षतिबारे चेकजाँच नसक्दासम्म कर्णाली पुल हुँदै पूर्वपश्चिम राजमार्गको सवारी आवागन बन्द गरि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ ।
सोमबार बेलुकी साढे चार बजेतिर ट्रकमा एक्कासि आगो लागेको थियो । वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रक र ट्रकको सबै सामान जलेर नष्ट भएको छ । त्यसयता वैकल्पिक मार्गबाट सवारी आवागमन भइरहेको छ । पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्ग हुँदै पठाइएको छ ।
ट्रकमा के कारणले आगो लागेको हो भन्ने पुष्टि भइसकेको छैन ।