काठमाण्डौंस्थित हिमालयन ह्वाइटहाउस स्कुलले अन्तर्राष्ट्रिय पाठ्क्रम पढाउन मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय ब्याकलरेट बोर्डबाट यसै साता प्राथमिक तहदेखि कक्षा ५ सम्मको मान्यता पाएको र कक्षा ६ देखि १० सम्मको परीक्षण अवधि चलिरहेको विद्यालयले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय ब्याकलरेट (आईबी) भनिने यो पाठ्यक्रम सन् २००९ बाट नेपालमा पढाउन थालिएको हो । यस पाठ्क्रमले पढाइबाहेक विद्यार्थीहरुमा सोचाइ, अनुसन्धान, सञ्चार कौशल, आत्म व्यवस्थापन र सामाजिक सीपहरु प्रदान गर्ने विद्यालयले बताएको छ ।
विद्यालयका अध्यक्ष युवराज शर्माका अनुसार अन्तर्राष्ट्रिय ब्याकलरेट बोर्डबाट यसअघि दुईपटक विद्यालयको अनुगमन गरिएको थियो । विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ विधि, विद्यार्थी सिकाइ उपलब्धि राम्रो रहेको, आइबीको सिद्धान्तको परिपालना गरिएको र विद्यालयले प्रदान गर्ने सुविधाहरुको मूल्यांकन राम्रो देखिएको भन्दै बोर्डले आइबी मान्यता दिएको शर्माले जानकारी दिए ।
आइबी मान्यता प्राप्त भएका संसारका सबै विद्यालयहरुको पाठ्यक्रम एकै किसिमको हुने र विद्यार्थीहरुमा खोज अनुसन्धान गर्न र जिज्ञासा बढाउनका साथै विद्यार्थीको ज्ञान सीप र धारणा समेत अभिवृद्धि गर्न यस कार्यक्रमले पहल गर्ने शर्माले जानकारी दिए ।
विश्वभरि एक सय ६० बढी देशका झन्डै १० हजार विद्यालयहरुमा यो कार्यक्रम सञ्चालित छ । ती देशहरुमा तीनदेखि १९ वर्ष उमेर समूहका झन्डै २० लाख विद्यार्थीहरु यस कार्यक्रममा आबद्ध रहेको बोर्डले जनाएको छ ।