मनाइयो नेपालगन्जमा विश्व मिर्गौला दिवस

विहीवार विश्व मिर्गौला दिवस । नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरि विश्व मिर्गौला दिवस मनाइएको छ ।

भेरी अस्पतालले दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको छ । अस्पतालबाट सुरु भएको प्रभातफेरी सुर्खेत रोडको गणेशमा चोक, बिपि चोक त्रिभुवन चोक हुदै भेरी अस्पतालमा पुगेर समापन भएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा पारश श्रेष्ठले जानकारी दिए ।

प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रायमाझी, मेडिसिन बिभाग प्रमुख डा.राजन पाण्डे, डा. दिपेश गुप्ता, नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, चिकित्सक, नर्सिङ स्टाफ लगायतको सहभागिता रहेको जानकारी दिंदै डा. श्रेष्ठले सचेतना आवश्यक रहेको बताए ।

विहीवारनै नेपालगन्ज उपमहानगरपालिकाले पनि विश्व मिर्गौला दिवसका अवसरमा विश्व समुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि र्याली लगायतका कार्यक्रम गरि विश्व मिर्गौला दिवस मनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका परिसरबाट सुरु भएको सचेतना र्याली गणेशमान चोकमा पुगेर गरिएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवन रायमाझी, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहरा, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सौरभ हमाल लगायतले मिर्गौला रोगको जोखिम कम गर्न आफैं सचेत हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपालगन्ज नर्सिङ क्याम्पस, कैलपाल अस्पताल एन्ड कलेज, कलेज अफ अलाइड, नेपालगन्ज हेल्थ क्याम्पसका शिक्षक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।

प्रत्येक १० जना मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गर्दछ र विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिन्छ ।

प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । यस वर्षको विश्व मिर्गौला दिवसे बिहीबारको दिन परेको हो । यस वर्षको मूल नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने थियो ।

Exit mobile version