बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच सुरु भएको विवाद अझै साम्य हुन सकेको छैन । शुक्रबारदेखि सुरु भएको विवादका क्रममा आइतबार आपसी झडप र सरकारी गाडी समेत तोडफोड समेत भएको थियो । सुधार गृहको अवस्था नियन्त्रणका लागि सोमबार पनि प्रहरी तैनाथ छन् । बालबन्दीहरूसँग नियमित संवाद गरी अवस्था साम्य पार्ने प्रयास अझै पूर्ण रूपमा सफल हुन सकेको छैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बाल सुधार गृहको व्यवस्थापन चुनौतिपूर्ण हुँदै गैरहेको बताएका छन् । मंगलबार उद्घाटन हुने भनिएको बाल सुधार गृहको कार्यक्रम समेत त्यहाँको अवस्थाले रद्द भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सुधारगृहमा रहेका १ सय १६ जना मध्ये १५ जना फरार भएको बताएका छन् । उनले बार्ताको माध्यमबाट बालबन्दीको सफा पानी, उपचार प्रबन्ध, शिक्षा, सीप बिकास, मनोरञ्जन जस्ता पक्षहरूमा सम्बोधन गर्ने वा अन्य निकायबाट उपलब्ध हुनु पर्ने बिषयमा समन्वय एवं सहजिकरण गरिने मौखिक सहमति भएको जानकारी दिएका थिए । ‘सुरक्षा करवाही तर्फ सुधार गृह पूर्ण रूपमा खाली गराई सर्च गरिएको छ ! सर्चको क्रममा ४ थान मोबाइल फोन नियन्त्रणमा लिएर पुन उनीहरूलाई सुधार गृहमा पुनःस्थापित गरिएको छ’, प्रजिअ पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलले बाल सुधार गृह शान्त अवस्थामा रहेको बताएका छन् ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बालसुधार गृहको अवस्था नियन्त्रण प्रयास भैरहेको बताए ।
यसअघि डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच शुक्ररबारदेखि विवाद सुरु भएको हो । हाल अवस्था सामान्य रहेको उक्त बालसुधार गृहका प्रमुख श्याम राना बताउँछन् ।
बालसुधार गृहका प्रमुख रानाले भने, ‘डुडुवास्थित जयेन्दु बालसुधार गृहमा विसं २०८० असोज ४ गते तोडफोड र झगडा गरेका दुई समूह यस बालसुधार गृहमा राखिएका छन् । तिनै दुई समूहका बालबन्दीबीच उतिबेलाको विषयलाई लिएर झगडा भएको हो । अहिले अवस्था केही सामान्य बनेको छ ।’
डुडुवा गाउँपालिका–६ असमानपुरस्थित बालसुधार गृहमा गत असोज ४ गते राति बालबन्दीबीचमा भएको झडपमा परी एक बालबन्दीको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । त्यसपछि उनीहरूलाई नौबस्ता क्षेत्रीय कारागार सारिएको थियो । तर उनीहरूले नौबस्ता कारागारबाट पनि बाल बिज्याइँ गर्न सुरु गरेको रानाको भनाइ छ ।
नौबस्तामा क्षेत्रीय कारागार सञ्चालन गरिए पनि त्याहाँका चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृह सञ्चालन गरिएको छ । क्षेत्रीय कारागार नौवस्तामा रहेको बालसुधार गृहमा हाल एक सय २६ जना बालबन्दी छन् । उक्त स्थानमा हाल पर्साबाट १५, हेटौँडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बालसुधार गृहबाट ७९ बालबन्दीलाई राखिएको छ ।