उपभोक्ता हित संरक्षणका लागि छुट्टै उपभोक्ता अदालत गठन हुनुपर्ने माग उपभोक्ताहरूले गरेका छन् ।
शुक्रबार नेपालगन्जमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज र घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उपभोक्ता हित संरक्षणका लागि छुट्टै उपभोक्ता अदालतको आवश्यकता आंैल्याएका हुन् । उनीहरूले विश्वका विभिन्न देशमा उपभोक्ताका लागि छुट्टै अदालत रहेको भन्दै नेपालमा पनि त्यसखालको अभ्यास आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा सहभागीहरूले खु्ला सीमानाका कारण गुणस्तरहीन वस्तु भित्रिरहेकाले त्यसलाई नियन्त्रण गर्न कार्यक्रममा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण गराएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री भण्डारीले नेपालगन्जमा आयोजित कार्यक्रमसँगै झुम मार्फत केन्द्रीय कार्यक्रमलाई पनि सम्बोधन गरे । त्यसक्रममा उनले उपभोक्ता अदालत गठन लगायत उपभोक्ता हितका सम्बन्धमा कानुन निर्माण गर्ने बताए ।
मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताउँदै अदालतबाट भएका उपभोक्ता सम्बन्धी फैसलाको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।
संविधानमा उल्लेखित उपभोक्ता हित संरक्षणका लागि तीन तहकै सरकार रहेको भन्दै आवश्यक समन्वय गरिने भण्डारीको भनाइ थियो । “उपभोक्ताबीच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा रणनीति तय गरिने छ”, मन्त्री भण्डारीले भने, “उपभोक्ता हित संरक्षण नीति जारी गरिनेछ ।” वाणिज्य कार्यालयका प्रमुख विष्णु प्रसाद धितालले स्वागत गरेको कार्यक्रम देवीलाल चौलागाईले सञ्चालन गरेका थिए ।