प्रहरीले नियन्त्रणमा लिएको स्रोत नखुलेको एक एक करोड ५६ लाख २८ हजार रुपैयाँ र पक्राउ परेका आठजनाका विषयमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरले अनुसन्धान गर्ने भएको छ । राजस्व कार्यालयअन्तर्गत पर्ने भएकाले उनीहरुलाई कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १६ का ३५ वर्षीय रोहित क्षेत्री, तुलसीपुर उपमहानगरपालिका ९ घर भएर नेपालगन्ज उपमहानगरपालिका ४ बस्ने ४३ वर्षीय कृष्णबहादुर विक, भारत बहराइचका ४१ वर्षीय राहुल जैसवाल, नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरका ५० वर्षीय सलिम जोलाह र उनका २८ वर्षीय छोरा आसिफ जोलाहालाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी, राजापुर नगरपालिका १, बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै बारबर्दिया नगरपालिका २ बस्ने २५ वर्षीया पूर्णिमा थारु र नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३६ वर्षीय हसिब अहमद जसगढलाई पक्राउ गरिएको थियो ।
उनीहरुबाट छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको एक करोड ५६ लाख २८ हजार रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।