एक मिनेटमा नेपालगन्जः पढ्नूस् आजका मुख्यमुख्य समाचार शीर्षक

•           शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको आधाभूत तह कक्षा १ देखि ८ सम्मको परीक्षा हलभित्र मोबाइल लिन निषेध गरिएको छ । विद्यार्थी, परीक्षामा खटिने निरीक्षक र कर्मचारी सबैलाई यो नियम लागु हुने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

•           अवैधरुपमा भारतबाट भित्र्याइएका ठूलो परिणाममा प्रहरीले कुखुराका चल्ला बरामद गरिएको छ । नेपालगन्ज-२० राँझा, नेपालगन्ज-१८ काँरकादो र डुडुवा-६ हिरमिनियाबाट प्रहरीले पाँच हजार नौ सय वटा कुखुराका चल्ला बरामद गरेको हो ।

•           जानकी गाउँपालिकासँग सीमा जोडिएको नेपालगन्ज-१८ तेजनगरका सडक स्तरोन्नतिको काम सुरु भएको छ । वडा कार्यालयको पहलमा संघ सरकारको ४० लाख रुपैयाँमा यहाँका कच्ची सडकको स्तरोन्नति हुन थालेको हो ।

•           राप्ती नदी सुन्दर र सफा राख्ने उद्देश्यले सञ्चालन गरिएको राप्ती सरसफाइ अभियान शनिबार आठौँ सप्ताहमा पुगेको छ । नेपालगन्ज ग्यालरी र क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्जको संयुक्त प्रयासमा प्रत्येक शनिबार राप्ती सरसफाइ हुँदै आएको छ ।

•           भेरी अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि वितरण प्रणाली सहज नहुँदा सर्वसाधारणहरुलाई झन्झट भएको छ । फार्मेसीमा जनशक्ति अभाव हुँदा औषधि किन्न पनि लाइन लाग्नु पर्ने अवस्था रहेको बताइएको छ ।

•           नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई उद्योगी, व्यवसायीका तर्फबाट विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय उद्योगी, व्यवसायीले भोगेका समस्याहरू समाधानका लागि पहल गर्न संघले मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।     

•           यातायात कार्यालय बाँके गाउँदेखि पीपल चौतारासम्म शनिबार ११ केभी प्रसारण लाइन अपग्रेड, सुधार र मर्मतको काम सम्पन्न भएको छ ।

•           नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसम्बद्ध विद्यार्थी संगठन नेविसंघमा बाँकेका आशिष बर्मासहित ४१ जना केन्द्रीय सदस्य थप गरेका छन् ।

Exit mobile version