सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र थप अनुसन्धान गरेर कानुनी कारबाही गर्न निर्देशन दिएका हुन् ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । तस्करसँग कैयौँ पटक कृष्णबहादुर महराले पनि टेलिफोनमा कुराकानी गरेको प्रमाण प्रहरीसँग सुरक्षित रहेको छ । प्रहरीले यसअघि महरासँग बयानसमेत लिएको थियो ।

यसैबीच गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग पनि बयान लिन सीआईबीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर जग्गा हिनामिनामा जुनसुकै तहका व्यक्ति मुछिए पनि कारबाही गर्न निर्देशन दिँदै विनोद चौधरीको पनि बयान लिन र छानबिन गर्न निर्देशन दिए ।

Exit mobile version