जनमत पार्टीले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने भएको छ । पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा दुई दिन वीरगंजमा बसेको जनमत पार्टीको केन्द्रीय समितिले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले गरेको निर्णयमा भनिएको छ, ‘प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमाकंन तथा नामाकंन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय गरिएको छ ।’ यस्तै, मधेश-थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाकंन तथा नामाकंन परिवर्तन गराउन नेत्तृत्व गर्ने निर्णय समेत गरेको छ ।
प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने समेत केन्द्रीय समितिले निर्णय गरेको छ । आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने जनमतको केन्द्रीय समितिले निर्णय गरेको छ ।