देशमा आजः ८ बजे ८ खबर

  1. कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।
  2. जनमत पार्टीले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने भएको छ । पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा दुई दिन वीरगंजमा बसेको जनमत पार्टीको केन्द्रीय समितिले कोशी र लुम्बिनीको नाम परिवर्तन गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।
  3. राष्ट्रिय जनगणना २०७८ को ‘घर र पारिवारिक अवस्थाको प्रतिवेदनको सारांश’ प्रतिवेदनले नेपालमा अहिले धेरै परिवारको आफ्नै घर रहेको देखाएको छ । प्रतिवेदनअनुसार ८६ प्रतिशत परिवार आफ्नै स्वामित्व भएको घरमा बसोबास गरिरहेका छन् भने १२ दशमलव ८ प्रतिशत परिवार भाडामा लिएको घरमा बसोबास गरिहेका छन् । यस्तै झण्डै एक प्रतिशत परिवार सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारको आवासीय एकाइमा रहेका तथ्याङ्कले देखाएको छ ।
  4. उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र थप अनुसन्धान गरेर कानुनी कारबाही गर्न निर्देशन दिएका हुन् ।
  5. खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परि घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईँको उपचारका क्रममा ज्यान गएको छ । चौलागाईँको उपचारका क्रममा आज दिउँसो प्रदेशअस्पतालमा ज्यान गएको हो ।
  6. हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा  एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरू मारमा परेका हुन् ।
  7. कैलालीमा एक बालक मृत भेटिएका छन् । जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन् । आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
  8. र, अर्घाखाँचीको शितगंगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर-२, सितापुरको सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर झिर्रा निवासी अन्दाजी ४० वर्षीय शारदा नेपालीको मृत्यु भएको हो ।
Exit mobile version