आगामी वैशाख १ गते जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली र्स्पोर्टस क्लबले जुम्ला रारा अल्ट्रा म्याराथन गर्न लागेको अध्यक्ष सरोज शाहीले जानकारी दिए । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कर्णाली स्पोट्स क्लबले अल्ट्रा म्याराथनको तीब्र तयारी भइरहेको जनाएको हो ।
उनका अनुसार पाँच वर्षदेखि हरेक वैशाखमा जुम्ला अल्ट्रा म्याराथन भइरहेको छ । उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा जुम्लालाई स्थापित गर्ने र कर्णालीमा खेल पर्यटनको सम्भावना रहेको सन्देश विश्वभर फैलाउनको लागि म्याराथनको आयोजना भइरहेको अध्यक्ष शाहीले बताए ।
जुम्लाबाट रारासम्म हुने ४९ किलोमिटर दूरीको दौडमा यो पटक २ जना बेलायती र २ जना भारतीय खेलाडीले समेत भाग लिनेछन् । उनीहरुले नाम दर्ता गरिसकेको कर्णाली स्पोर्टस क्लब जुम्लाले जनाएको छ । जुम्ला रारा अल्ट्रा म्याराथन चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजार, जुम्लाबाट सुरु भई मुगु, रारा तालको हुटु छेउमा अन्त्य हुनेछ । अल्ट्रा म्याराथनको प्रचारका निम्ति बनाइएको ट्रिजर समेत सार्वजनिक गरिएको थियो । म्याराथनमा प्रथम हुनेलाई एकलाखसहित स्वर्णपदक, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार पुरस्कार प्रदान गरिने भएको छ । चौथो र पाँचौलाई नगद २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।