धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाललाई ह्वाटसपमा फोन गरेर ज्यान मार्ने धम्की दिएका भनिएका एक युवकले उपमहानगर कार्यालय परिसरमै विषादी सेवन गरेका छन् । मंगलबार बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् ।
नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए ।उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विषादी सेवन गरिरहेको अवस्थामा भेटिएका रानालाई नगर प्रहरीले तत्काल उद्धार गरेको जानकारी दिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेका बताए । ‘विषादी सेवन गरेका केस जटिल नै हुन्छ नै, रानाको अवस्था पनि गम्भीर छ,’ कमरले भने, ‘आईसीयूमा राखेर उपचार भइरहेको छ ।’
रानाले आफूलाई ह्वाटस्एपमार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि पठाएको थियो । रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका लगेको बताएका छन् । ‘बिहान ८ बजे घरमा पुगेका नगर प्रहरीले तपाईंको छोरालाई हामी लग्दैछौँ भनेको थियो । घरबाट राम्रै पठाएको थिए । नगर प्रहरीले समातेर लगेको हो,’ रानाले भने ।
अहिले विषादी सेवन गरेर अस्पतालमा पुगाइएको छ । उनीहरुमाथि शंका छ । तर, नगर प्रहरीले भने रानालाई नियन्त्रणमा नलिएको दाबी गरेको छ । धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए ।
यो समाचार देश सञ्चारमा प्रकाशित छ ।