बेपत्ता हुने सहरकै बढी

अशिक्षाका कारण पहाडि जिल्लाबाट बालबालिका तथा महिलाहरू बढी हराउने गरेपछि पछिल्लो समय हराउनेमा सहरकै बढी रहेका छन् । हराउने, फेला पर्ने र उद्दार गरिएको संख्यामा बाँकेकै बढी रहेको माइती नेपाल, नेपालगन्जको तथ्यांक रहेको छ ।

‘पहिले पहाडि जिल्लाबाट हराएको भन्दै खोजतलासका लागि निवेदन आउने गर्दथ्यो’, माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘तर, सन् २०२३ मा हराएको भन्दै खोजतलासका लागि सबैभन्दा बढी निवेदन बाँके बाटै प्राप्त भएको छ ।’ उनले हराउनेमा सबैभन्दा बढी ब्राह्मण जातिको र १८ बर्षमूनिका बालिका र सो भन्दा बढी उमेर समूहका महिला रहेको जानकारी दिए । माइती नेपाल, नेपालगन्जले भारतबाट उद्दार गरेको मध्ये सबैभन्दा बढी बाँके, बर्दियाकै छन् । बाँकेको नेपालगन्जको १, बैजनाथ गाउँपालिकाको १, बर्दियाको गेरुवाका १ र बढैयातालका ६ जना सहित दाङ्गका १ र दैलेखका २ जनालाई भारतबाट सन् २०२३ मा उद्दार गरिएको हो ।

सन् २०२३ मा बाँकेको कोहलपुर नगरपालिकाका ४३, नेपालगन्ज उपमहानगरपालिका २२, बैजनाथ गाउँपालिकाका ३२, खजुरा गाउँपालिकाका २३, डुडुवा गाउँपालिकाका २, जानकी गाउँपालिकाका ७ गरी जम्मा १ सय ४२ निवेदन खोज तलासका लागि बाँकेबाटै आएका थिए ।

सन् २०२३ मा माइती नेपालमा ६ सय ६२ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलास तथा उद्दारका लागि निवेदन प्राप्त भएकोमा २ सय ७८ जना भेटिएका थिए ।
माइती नेपाल, नेपालगन्जमा सन् २०२३ मा बर्दियाको गुलरियाबाट ३, बढैयातालबाट २२, बारबर्दियाबाट १०, ठाकुरबाबाबाट ५, बाँसगढीबाट १९, मधुवनबाट १२, राजापुरबाट ५, गेरुवाबाट ५ जना गरी ८० जना खोजतलासका लागि निवेदन परेको थियो ।

बाँके बर्दिया बाहेक सल्यानबाट ४२, सुर्खेतबाट ८२, दैलेखबाट ६०, दाङ्गबाट ५६, जाजरकोटबाट ६८ जुम्लाबाट २०, रुकुमबाट २९, रोल्पाबाट १० लगायतको खोजी तथा उद्दारका लागि माइती नेपालगन्जमा निवेदन आएको संयोजक कोइराला बताउँछन् । ‘निवेदनपछि नाकामा निगरानी गर्ने तथा भारतका सम्भावित स्थानमा खोजी कार्य गर्छौ’, उनले भने ।
हराउनेमा जातिगत तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी बाहुन, क्षेत्री बढी हराउने गरेको निवेदन माइती नेपाल, नेपालगन्जमा पर्ने गरेको छ । ब्राह्मण, क्षेत्री ३ सय २७ जना हराएको निवेदन परेको संयोजक कोइराला बताउँछन् । ‘ब्राह्मण क्षेत्री पछि जनजाति ९६, दलित २ सय १२ र आदिबासी २७ को खोजीका लागि निवेदन परेको हो’, उनले भने ।

उमेर समूहका आधारमा हराउनेमा सबैभन्दा बढी १८ बर्ष मूनिका बालिका रहेका छन् । १८ बर्ष मूनिका २ सय ८४ बालिका हराएका छन् भने १८ बर्ष मूनिका बालक ५७ जना हराएको भन्दै खोजतलासका लागि निवेदन माइती नेपाल, नेपालगन्जमा परेको थियो । १८ बर्ष माथिका २ सय १६ महिला र सो उमेर समूहका ५ पुरुष हराएको भन्दै माइती नेपालमा खोजीका लागि उजुरी परेको थियो । भारतबाट उद्दार गरिएका मध्ये ब्राह्मण क्षेत्री ८, जनजाति १, दलित ३ रहेका छन् । उमेर समूहका आधारमा १८ बर्ष मूनिका ७ बालिका, १८ बर्ष मूनिका ३ बालक र १८ बर्ष माथिका २ जनालाई माइती नेपाल, नेपालगन्जले भारतबाट उद्दार गरी नेपाल ल्याएको हो ।

अनलाइन खेल पनि चुनौति

सामाजिक सञ्जालबाट सम्पर्क भई मानवबेचबिखन तथा जोखिमपूर्ण यात्राको घटना हुने गरेको बताइँदै आएपनि अनलाइन खेल पनि चुनौति बन्न थालेको मानवबेचबिखन विरुद्ध क्रियाशिल संस्था माइती नेपालले बताएको छ ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले अनलाइन खेलिने खेलबाट सम्पर्क भै जोखिमपूर्ण यात्राको सन् २०२३ मा बाँकेमै फेला परेको बताए । उनले भारतीय केटी अनलाइन गेमको सम्पर्कबाटै जोखिमपूर्ण यात्रा गर्दै कोहलपुर पुगेको फेला परेको जानकारी दिए ।

‘सामाजिक सञ्जाल मात्रै नभई अनलाइन मार्फत खेलिने खेलमा सम्र्पक गरी जोखिमपूर्ण यात्रा हुन थालेको देखिएको छ’, कोइरालाले जोखिपूर्ण यात्रा रोक्न अर्को चुनौति थपिएको बताउँदै भने ।

Exit mobile version