नेपालगन्जमा ‘ओपन स्ट्रिट गेम्स’ हुँदै

भोलि शनिबार नेपालगन्जमा ‘ओपन स्ट्रिट गेम्स’को आयोजना हुँदैछ । एनवाईएफसी नेपालगन्जको आयोजनामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता नेपालगन्जमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रकाश कठायतले जानकारी दिए । ‘यसअघि स्थानीय तथा क्षेत्रीय स्तरको प्रतियोगिता गरेका थियौं, नेपालगन्जमा राष्ट्रिय स्तरको प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेका हौं’, कठायतले भने, ‘यसअघि खुल्ला व्यायाम प्रतियोगिताको संस्करण बाँके बाहिर आयोजना भैसकेको छ, नेपालगन्जमा हुन लागेको तेस्रो संस्करण हो ।’

राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगितामा पुरुष, महिला तथा ओपन गरी तीन विधामा विभिन्न खेलहरू हुने र प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक एनवाईएफसीका रोहन गुरुङ्गले बताए । प्रतियोगितामा प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद सहित पुरस्कार र प्रमाणपत्र दिइने आयोजकले जानकारी दिएका छन् ।

तीन विधामा रहेको व्यायाम प्रतियोगितामा देशभरबाट ७० जना मात्रै खेलाडीले सहभागिता जनाउन पाउने छन् । जसका लागि अनलाइन इन्ट्रीको व्यवस्था मिलाइएको छ । अनलाइनबाट निर्धारित खेलाडीको इन्ट्री नभएमा मात्रै अफलाइन इन्ट्री सम्भव हुने आयोजक तीलक शाहीले बताए । ‘सहभागिताका लागि उमेरको बन्देज छैन, तर पनि युवाहरूको सहभागिता बढी रहने अपेक्षा गरेका छौं’, शाहीले भने ।

करिब ६ लाख खर्च अनुमान गरिएको प्रतियोगितालाई स्थानीय तह र वडा लगायतले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘खेलबाट स्वास्थ्यको सन्देश दिन प्रतियोगिताको आयोजना गरेका हौं’, आयोजक संस्थाका शाहीले भने, ‘हामीले यसअघि देखि नै निरन्तर रूपमा स्वास्थ्यका लागि दैनिक विभिन्न फिटनेश टिप्सहरू दिने गरेका छौं ।’ प्रतियोगिता नेपालगन्ज उपहानगरपालिका वडा नं. १ मा रहेको विशालनगरको एन्फा मैदानमा हुनेछ ।

Exit mobile version