स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति

दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको छ । बुधबार सिंहदरबारस्थित भूमि, व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको आन्दोलनमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको हो ।

स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले बताए । उनले स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानसँग सरकारले छलफल  र संवादका माध्यमबाट सहमति जुटेको बताए ।

उनले सहमतिमा गुठी सम्बन्धी विभिन्न गुठी, मठ, मन्दिरहरूको फरक–फरक रहेको २०७२ मा भएका व्यवस्थालाई व्यवस्थित गर्ने र  स्वर्गद्वारी आश्रमका मोही किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठी सम्बन्धी कानुन तर्जुमा प्रक्रियालाई तत्काल अगाडि बढाउने सहमति भएको बताए ।

उनले स्वर्गद्वारी आश्रमका मोही किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित गरी आवश्यक सल्लाह सहयोग गर्नेगरी सहमति भएको बताए । किसानहरूले विगत लामो समयदेखि दाङको घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गर्दै आएका थिए ।

स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ । मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटक/पटक सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन ।

न्युज एजेन्सी नेपाल

Exit mobile version