राजश्व असुलीमा चुक्दै नेपालगन्ज भन्सार

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । गत आ.व.मा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको भन्सार कार्यालयले यस बर्ष पनि भन्सार लक्ष्य भेट्याउन निकै चुनौति रहेको देखिन्छ ।

गत आर्थिक वर्षमा रु २९ अर्ब ३२ करोड ९५ लाख राजस्व असुली गर्ने लक्ष्य रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख राजस्व असुली भएको थियो । अघिल्लो आ.व.मा लक्ष्य प्राप्त गर्न नसकेपछि यस बर्ष लक्ष्य घटाइए पनि चालु आ.व. २०८०÷०८१ का लागि निर्धारित कुनै पनि मासिक लक्ष्य भन्सार कार्यालयले पूरा गर्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा नेपालगन्ज भन्सार कार्यालयले अघिल्लो आ.व.को तुलनामा कम २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य पाएको थियो ।

चालु आर्थिक बर्षको दुई चौमासिक बितिसक्दा बार्षिक लक्ष्यको ४०.४४ प्रतिशत मात्रै भन्सार सम्बद्ध राजश्व असुली भएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक रहेको छ । फाल्गुन मसान्तसम्मका लागि ११ अर्ब ५९ करोड ९ लाख ४३ हजार मात्रै राजश्व संकलन नेपालगन्ज भन्सार कार्यालयले गर्न सफल भएको हो । अब भन्सारले चार महिनाभित्र लक्ष्य भेटाउनका लागि १७ अर्ब बढी राजश्व संकलन गर्नुपर्ने हुन्छ । जुन हालको असुलीको मासिक लक्ष्य र असुलीको ‘टे«न्ड’ अनुसार निकै चुनौतिपूर्ण रहेको छ ।

यसैबीच, नेपालले आठ महिनामा साउनदेखि फागुनसम्म एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।

फागुनसम्म नेपालले सबैभन्दा धेरै करिब सात अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ ।

त्यसपछि पाँच अर्ब १७ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । फलामे छड निर्यातमा प्राप्त हुने नगद अनुदान बढाइँदा त्यसको निर्यात पनि उल्लेख्य बढेको देखिन्छ ।

विभागका अनुसार फागुनसम्म चार अर्ब ८३ करोड रुपियाँ फलामे छड निर्यात भएको छ । कुनै समय सबैभन्दा धेरै निर्यात हुने वस्तुको शीर्ष स्थानमा परेको प्रशोधित पाम तेल यस पटक भने चार अर्ब सात करोड रुपियाँको मात्र निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । सबैभन्दा धेरै निर्यात हुने वस्तुको पाँचौँ स्थानमा जुस पनि परेको छ; जुन तीन अर्ब ७७ करोड रुपियाँको निर्यात भएको छ ।

Exit mobile version