यस वर्षका लागि चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा परीक्षामा बाँकेबाट नौ हजार दुई सय ९३ जना विद्यार्थी सहभागी हुने भएका छन् । नौ हजार एक सय दुई नियमित र एक सय ९१ जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन लागेका हुन् ।
२८ सामुदायिक र ६ संस्थागत गरी ३४ परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए । इकाई प्रमुख यादवका अनुसार एक मदरसासहित एक सय एक सामुदायिक विद्यालय र ९७ संस्थागत गरी एक सय ९८ विद्यालयका विद्यार्थी सहभागी हुने उनको भनाइ छ ।
एसईईमा जयेन्दु बाल सुधार गृहका ३३ र नौबस्ता बाल सुधार गृहका ११ गरी ४४ जना बालबिज्याईकर्ता पनि सहभागी हुने छन् । त्यसैगरी दृष्टिविहीन पाँचजना, कान नसुन्ने तीनजना र शारीरिक अपाङ्गता भएका दुई गरी १० जना अपाङ्ग क्षेत्रका विद्यार्थी पनि सहभागी रहने उनले बताए ।