देशमा आजः ८ बजे ८ खबर

  1. गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो ।
  2. चालु आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म २ अर्ब ४७ करोड १७ लाख रुपियाँको क्लिङ्कर तथा सिमेन्ट निर्यात गरेको हो । गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट एक खर्ब रुपियाँभन्दा बढीको कुल निर्यात भइरहेका बेला सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको हो ।
  3. मौसमविद्हरूले आइतबार बिहानदेखि काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार हुने अनुमान गरेका छन् । आइतबार बिहान काठमाडौँमा घाम लाग्ने उनीहरूको अनुमान छ । वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार दक्षिण पूर्वमा विकसित भएको निम्न चापीय क्षेत्र (लो प्रेसर एरिया) र पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु प्रणालीको कारण काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा हल्का वर्षा, मध्यम वर्षा र केही ठाउँमा मेघगर्जन र चट्याङ्ग पर्ने सम्भावना शनिबारसम्म कायमै रहेको छ ।
  4. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार सांसदलाई चुनाव खर्च सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले गरेको सजाय उच्च अदालत पाटनले बदर गरिदिएको छ । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले १५ हजार जरिबाना सजाय तोकेको थियो ।
  5. सहकारी वचतकर्ताहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी वचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका ८ बुँदे सहमती भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन् ।
  6. गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
  7. बिहे गरेर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीको कावासोती नगरपालिका-८ घर भई पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गाबहादुर पौडेललाई मंगलबार पक्राउ गरेको हो ।
  8. नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत फागुन २७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रतितोला एक लाख २७ हजार आठ सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार आठ सय रूपैयाँ बढी हो ।
Exit mobile version