नेपालगन्ज विमानस्थलको पार्किङ ठेक्का लिएको कम्पनीले यहाँका तीन पांग्रे सवारी साधनमा लगाउँदै आएको शुल्क वृद्धि गर्न दबाब दिएको छ । सरकारले आफूमाथि बर्सेनि कर बढाउने भएकाले सोहीअनुसार तीन पांग्रे सवारी साधनबाट शुल्क बढाउन थालेको सार्थक ट्रेड सेन्टर एण्ड सप्लायर्सले बताएको छ ।
यसभन्दा अघि प्रति ई-रिक्साबाट मासिक दुई हजार रुपैयाँ उक्त कम्पनीले पार्किङ शुल्क उठाउँदै आएको थियो । यो महिनादेखि प्रति रिक्सा दुई सयका दरले पार्किङ शुल्क थप गरेर दुई हजार दुई सय रुपैयाँ पुर्याउने सार्थक ट्रेड सेन्टर एण्ड सप्लायर्सले जनाएको छ । पछिल्लो समय भएको व्यापार गिरावटले गर्दा कम्पनीले तोकेअनुसारको पार्किङ शुल्क तिर्न नसक्ने यहाँका ई-रिक्सा चालकहरुले जनाएका छन् । अहिले आम्दानी घटिरहेकाबेला पार्किङ शुल्क बढाएर तिर्न नसकिने अटो चालक रमेश यादवले बताए । १६ वटा ई-रिक्सा विमानस्थलको पार्किङका लागि कम्पनीसँग दर्ता भएका छन् । उनीहरुले मासिक ३२ हजार रुपैयाँ पार्किङ शुल्क तिर्छन् ।
पेट्रोलवाला पनि १६ वटा रिक्सा छन् । उनीहरुले एकमुस्ट मासिक ५० हजार रुपैयाँ तिर्दै आएका छन् । यो निर्णय अटोहरुमा मात्र लागु हुने पार्किङ जिम्मा लिएको कम्पनीले जनाएको छ । कि अटोहरुको संख्या थप्न दिनु पर्ने नत्र भने पार्किङ शुल्क बढाउनु पर्ने उक्त कम्पनीले बताएको छ । पार्किङ जिम्मा लिएको सार्थक ट्रेड सेन्टर एण्ड सप्लायर्स र अटो चालकबीच ३२ वटा अटोबाहेक अरु पार्किङ गर्न नमिल्ने गरी सम्झौता भएको छ ।