काँक्रेबिहारमा वन्यजन्तु असुरक्षित

नेपालकै पहिलो संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र वन्यजन्तु भने असुरक्षित छन् । वीरेन्द्रनगर नगरपालिका-९, लाटीकोइलीमा रहेको सो क्षेत्रमा महिनैपिच्छे संरक्षित जनावर जरायो मर्ने गरेका छन् । जसका कारण संरक्षित वनमा वन्यजन्तु असुरक्षित बनेका हुन् ।

स्थानीयका अनुसार गत वैशाखदेखि यो चैतसम्म करिब ५० वटा जरायो मरेको अवस्थामा फेला परेका छन् । तीमध्ये केही कुकुरले लखेटेर, खाडलमा डुबेर र धेरैजसो पासोमा पारेर वा चोरी सिकारीले बन्दुक हानेर मारिएका छन् । लाटीकोइलीका स्थानीय सुदीपविक्रम जिसीले यसरी मारिँदा अहिले काक्रेविहारमा जरायोको सङ्ख्या घट्दै गएको बताए । काँक्रेविहारभित्र वनभोज खानेको भिड, बाजा र डिजेको चर्को आवाजले पनि शान्ति खोज्ने जरायो बाहिरिन थालेका छन् । त्यसका साथै जरायोले मन पराउने घाँस र पानीको अभावले गर्दा पनि बाहिर निस्किएका बेला मार्ने, खाल्डोमा डुब्ने गरेको पाइएको जिसीले बताए । उनका अनुसार महिनामा कम्तीमा चार/पाँच वटा जरायो मर्ने गरेका छन् । गत माघ र फागुनमा मात्रै आठ वटा जरायो मृत फेला पारेको उनले जनाए ।

विगतमा ७० वटासम्म रहेको भनिएका जरायो अहिले बढीमा २५/३० वटासम्म रहेको हुन सक्ने अनुमान गरिएको छ । जरायो प्रायः साँझको सुनसान अवस्थामा चर्न निस्कन्छन् । काँक्रेविहार जङ्गलभित्र घाँस खान नपाउने, पानीको अभाव र वनभोज खानेको भिडले हो हल्ला हुँदा जरायो बाहिर गएको मौकामा चोरी सिकारीले मार्न लखेट्ने र भाग्दा खाडलमा डुब्ने स्थानीय बताउँछन् ।

यस अवस्थामा जरायो संरक्षण गर्न काँक्रेविहारभित्र वनभोज खान रोक लगाउनुपर्ने र वन्यजन्तुका लागि पानीको व्यवस्था गर्नुपर्ने जिसीको भनाइ छ । वनभोज खान रोक लगाउन र पानीपोखरी पनि निर्माण गर्न डिभिजन वन कार्यालयलाई बारम्बार आग्रह पनि गरिएको छ । यद्यपि अग्लो डाँडामा भएकाले पानी जम्मा हुन नसकेको बताइएको छ ।

Exit mobile version