बाँदरको आतंक र अचाक्ली रोक्न अर्घाखाँचीमा भोटे जातका कुकुर बाँड्न सुरु गरिएको छ । खेतबारीमा अन्नबाली, फलफूल र तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि बुधबारबाट कुकुर बाँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
यसअघि उनले किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएका थिए । खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो । तर, केही गरे पनि बाँदर नियन्त्रण नभएपछि यहाँका किसानलाई पछिल्लो समय कुकुर बाँड्न सुरु गरिएको उनले बताए ।
धादिङबाट ३, कास्कीको माछापुच्छ्रे गाउँबाट ४ र लेखनाथबाट २ वटा भोटे कुकुर ल्याएर किसानलाई वितरण गरिएको छ । ४० देखि ६० दिनका ९ वटा कुकुर ल्याएर बाँडेको वडाध्यक्ष पौडेलले बताए । ‘कुकुरलाई रेबिज भ्याक्सिन लगाएर घरमा पालिनेछ,’ उनले भने, ‘कुकुरलाई घर र बारीका छेउमा चौकीदारी राख्ने हो । बाँदर आए भुक्छ र लखेट्छ ।’