विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आगामी मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसका सन्दर्भमा सरकारी तथा गैर सरकारी निकायबाट सचेतनामूलक विभिन्न कार्यक्रमहरू आयोजना भैरहेका छन् । आइतबार र सोमबार होली पर्व परेकाले कतिपय जिल्लाहरूमा क्षयरोग दिवसका कार्यक्रम त्यसअघि नै आयोजना भैरहेका छन् ।
‘बाँकेमा पनि क्षयरोग दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम भैरहेको छ, दिवसकै दिन मूल कार्यक्रम आयोजना हुनेछ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले भने ।
बाँकेमा चालु आ.व.को सात महिनामा मात्रै जिल्लामा ५ सय ३९ जना नयाँ क्षयरोगी थपिएको स्वास्थ्य कार्यालयका क्षय कुष्ठ फोकल पर्सन रविन्द्र कुमार शाहले जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी नेपालगन्जकै रहेका छन् । नेपालगन्जमा १ सय ६३ नयाँ क्षयरोगी पत्ता लागेको क्षयकुष्ठ फोकल पर्सन शाह बताउँछन् । जिल्लामा सबैभन्दा कम क्षयरोग नरैनापुरमा पत्ता लागेका छन् । नरैनापुरमा २६ जना क्षयरोगी पत्ता लागेका हुने । चालु आ.व.मा क्षयरोग पुष्टि भएका मध्ये ६ जना एचआइभी पोजेटिभ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, अघिल्लो आ.व. २०७९÷०८० मा बाँकेमा १ हजार १ सय २ जना क्षयरोगी रहेका थिए । जसमध्ये नेपालगन्जमा सबैभन्दा बढी ३ सय ३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेका थिए । क्षयरोगी मध्ये ५ जनामा एचआइभी पोजेटिभ समेत रहेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका क्षयकुष्ठ अधिकृत शाह क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउँछन् । ‘क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छ’, उनी भन्छन् । शाह क्षयरोगको पहिचान, उपचार र निधानका लागि परीक्षण बढाउँदै लग्नु पर्ने बताउँछन् ।
नेपालमा पछिल्लो पटक ३७ हजार ४४७ जनामा क्षयरोग देखिएको छ । क्षयरोग अन्त्यको लागि देशव्यापी रूपमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सुरुवात भएको छ । यो अभियानमा १२५ स्थानीय तहमा क्षयरोग पहिचान, निदान र उपचार सेवा दिइँदै आएको छ । यो अभियानलाई ७५३ स्थानीय तहमा पु¥याउने लक्ष्य राखिएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको बताएका छन् । सरकाराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । हाल प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन् । निर्देशक डा. श्रेष्ठका अनुसार, आव २०७९÷८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिएको र करिब १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ । नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा आएको उनको भनाइ छ । तीमध्ये तीन हजार छ सय ५८ बालबालिका उपचाररत छन् ।
क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अङ्गका बिरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको छ ।
विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि छ । आव २०७९÷८० मा दुई हजार नौ सय जनामा औषधि प्रतिरोधि क्षयरोग विकास हुने अनुमान गरिएकोमा छ सय ९३ बिरामी मात्र निदान गरिएको र पाँच सय ४६ बिरामीको उपचारको दायरामा आएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताएका छन् । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर नेपालमा ८२ प्रतिशत रहेको छ ।
क्षयरोगका ६८ प्रतिशत विरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर तीन प्रतिशत छ । क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । एक जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ ।
क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।
क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने गर्दछ । क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।
कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।