अवैधानिक तरिकाले काटियो विद्यालयको रुख

बाँके नरैनापुर गाउँपालिका वडा नं.६ स्थित जय किसान माध्यमिक विद्यालयको रुख कटान भएपछि विवाद उत्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बरलाल मौर्यले आफुलाई थाहै नदिएर विद्यालयका प्रधानाध्यापक र वन कर्मचारीले मिलोमतो गरि रुख कटान गरेको अरोप लगाएका छन् ।

करिब ६ लाख रूपैया पर्ने सिसम र युकलप्टिसका ३ दर्जन बढि विरुवाहरू अवैधानिक तरीका प्रयोग गरेर कटान गरेपछि विवाद उत्पन्न भएको हो । विद्यालयको पुरानो भवनमा रहेको विरुवालाई यसअघि कटानका लागि अनुमति माँग गरिएकोमा अनुमति प्राप्त नभएको तर केही वन कर्मचारीको आपसी मिलोमतोमा रुख काटिएको जानकारी भएको अध्यक्ष मौर्यले बताए ।

कटान गर्नु अघि मुल्याँकन समितिले मुल्य निर्धारण गर्नु पर्ने, मुल्य निर्धारण भएपछि कम्तिमा ३ वटा फर्मको कोटेशन प्राप्त गरि बढि मुल्यमा खरीद गर्ने ब्यक्ति वा फर्मलाई मात्र बिक्री गर्नु प्रावधान रहेकोमा सो अवलम्बन नगरिएको मौर्यले बताए ।

‘६ लाख रूपैया पर्ने रुखको ३ लाख रूपैया मात्र बैंकमा दाखिला भएको पाइयो’, दैनिक नेपालगन्ज संग अध्यक्ष मौर्यले भने, ‘उक्त रकम पनि निकासा गर्ने तयारी भएपछि आज विद्यालयको खाता रोक्का गरिएको छ ।’

‘कानून बमोजिम अनुमति माँग गरिएको विषयमा विवाद छैन’, सब डिभिजन वन कार्यालय नरैनापुरका रेन्जर मान बहादुर थापाले दैनिक नेपालगन्ज संग भने, ‘रुख कटानका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएको छ ।’

‘विद्यालयको आन्तरिक विवादलाई रुख संग जोडिएको हो’, लेखापाल रामवरन मौर्यले भने, ‘विद्यालयको केहि गतिविधि बारे अध्यक्ष र समितिका अन्य सदस्यहरू बीच विवाद देखिएको हो ।’

रुख कटान गर्ने ठेकेदार अमृत लाल मौर्यले सब डिभिजन कार्यालय नरैनापुरले दिएको अनुमति अनुसार आफुले रुख कटान गरेको बताएका छन् । ‘कागजी प्रक्रिया हेर्ने जिम्मेवारी सव डिभिजनको हुन्छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘कानून बमोजिम प्रक्रिया पूरा नभए सम्म रुख कटान हुँदैन ।’ रुख कटानमा अनियमितता भएको आरोप सहित शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्जमा उजुरी समेत दर्ता भएको बुझिएको छ ।

Exit mobile version