देशमा आजः ८ बजे ८ खबर

१) करेन्ट लागेर दाङमा शनिवार एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उहाँका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

२) हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–४ मा शनिवार भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । धुलाचौरबाट आउँदै गरेको सु प प ००१ ज ११८३ नम्बरको बोलेरो जीप हिजो शनिवार दिउँसो पाम्स मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ करगाइ गाउँका अन्जादी ३९ वर्षिया फागुने लुवार र सोही वडा बारिगाउँ गाउँका १३ वर्षिया प्रवेश ऐडी छन् । दुवै जना भारतमा घर फर्कने क्रममा थिए ।

३) बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिवार नेपाल भ्रमणमा आएका छन् । काठमाडौँमा आयोजना हुने नेपाल र बङ्गलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आइपुगेका हुन् ।

४) रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ राडिमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैङ्कको अपरेसन इन्चार्ज पदमा कार्यरत आठविसकोट नगरपालिका–११ निवासी ३१ वर्षीय नीरज विक्रम शाहलाई पक्राउ परेको हो ।

५)भोलि सोमबार सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ ।
ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए ।
‘यो ग्रहण नेपालबाट देख्न सकिँदैन, उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिन्छ, शर्माले भने ।’


६) कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापना गरिएको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले सो पुरस्कार शनिबार ऋषिङ गाउँपालिकाको पोखरीभञ्ज्याङमा कार्यक्रममा प्रदान गरिएको हो । गाउँवेशीका कवि उपनामले चिनिदै आएका कवि लम्साल तनहुँमा जन्मिएका हुन् ।


७) रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको नेपाल सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको हो । ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,’ विज्ञप्तिमा उल्लेख छ ।


८) र, नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले ‘राइट टु प्रोटिन रन’ मा हाफ म्याराथन उपाधि हात पारेका छन् । शनिबार भएको दौडमा दीपक पुरुष तथा सन्तोषी महिलामा च्याम्पियन बनेका हुन् ।
एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा सात मिनेट ३३ सेकेन्डमा पूरा गरे ।

Exit mobile version