आज बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बाँकेमा पनि तयारी सकिएको शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका प्रमुख राम सुरेश यादवले बताएका छन् ।
एसईईमा यस बर्ष बाँकेबाट नौ हजार दुई सय ९३ जना विद्यार्थी सहभागी हुने भएका छन् । नौ हजार एक सय दुई नियमित र एक सय ९१ जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन लागेका हुन् ।
२८ सामुदायिक र ६ संस्थागत गरी ३४ परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख यादवले जानकारी दिए । इकाई प्रमुख यादवका अनुसार एक मदरसासहित एक सय एक सामुदायिक विद्यालय र ९७ संस्थागत गरी एक सय ९८ विद्यालयका विद्यार्थी सहभागी हुने उनको भनाइ छ ।
एसईईमा जयेन्दु बाल सुधार गृहका ३३ र नौबस्ता बाल सुधार गृहका ११ गरी ४४ जना बालबिज्याईकर्ता पनि सहभागी हुने छन् । त्यसैगरी दृष्टिविहीन पाँचजना, कान नसुन्ने तीनजना र शारीरिक अपाङ्गता भएका दुई गरी १० जना अपाङ्ग क्षेत्रका विद्यार्थी पनि सहभागी रहने उनले बताए ।
परीक्षामा देशभर सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् । उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक÷एक, पर्सा र सप्तरीबाट दुई÷दुई, रूपन्देहीबाट चार जना छन् ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइर्ई परीक्षाका लागि प्रत्यक्षरूपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।
त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ ।
परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको संख्या थप हुन सक्ने पौडेलको भनाइ छ । उहाँका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ ।