‘राष्ट्रको पुरानो गौरव फर्काउँ’

श्रद्धाः नागरिक अभिनन्दनका लागि जुम्ला जानुअघि नेपालगन्ज विमानस्थलमा विदाई गर्दै नेपालगन्जका राजतन्त्र पक्षधर ।

जुम्लामा पूर्वराजाको अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीको जुम्लामा अभिनन्दन गरिएको छ । शनिबार जुम्लाको खलंगामा औपचारिक समारोहको आयोजना गरि उनलाई नागरिक अभिनन्दन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन् । देश बनाउनका लागि सबै एकजुट भएर राष्ट्रको पुरानो गौरव फर्काउनुपर्ने बताएका हुन् ।

पूर्वराजा शाहले भने, ‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ। आफ्नै भूगर्भभित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइराखेका छौँ । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर खै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

लिखित मन्तव्यमा उनले परिवर्तन पीडादायी भए पनि सधैँ आवश्यक हुने बताए । उनले भने,’ परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन।’

अब नयाँ संवाद, नयाँ समझदारी र नयाँ सम्झौतातर्फ जनमत बढ्दै गइरहेको आफूले अनुभव गरेको बताएका छन् । उनले भने,’अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’

शनिवार बिहान जुम्ला पुगेका पूर्वराजा ज्ञानेन्द्र चन्दन भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोहमा उनी सहभागी भएका हुन् ।

नागरिक मूल आयोजक समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा समारोह आयोजना गरिएको हो ।

कर्णाली प्रदेशका जुम्लालगायतका स्थानहरूमा नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा शाह गत बुधबार नेपालगन्ज पुगेका थिए । नेपालगन्ज मुकाम बनाएर यो साता उनी राजनीतिक तथा धार्मिक गतिविधिमा सहभागी छन् ।

Exit mobile version