देशमा आजः ८ बजे ८ खबर

१. न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो ।

२. लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रीमण्डल बिस्तार गरेका छन् । उनले तीन जना मन्त्रीलाई शपथ गराएका हुन् ।

३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार, भट्टराईले घुसवापत भक्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ ।

४. अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् । अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आइतबार राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले विगतका वर्षमा बजेट वक्तव्यमार्फत करको दररेट बढाउँदा वा घटाउँदा विवादास्पद विषय बनेको भन्दै आगामी आवमा करको घटबढ हुनुको कारणसहित स्पष्टिकरण समेट्ने बताएका हुन् ।

५. नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागुऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारतको उत्तर प्रदेशस्थित लखिमपुर (खिरी) जिल्लाको पलियामा शनिबार बसेको बैठकमा सीमा क्षेत्रबाट हुनेगरेको लागुऔषधको कारोबार रोकथाममा भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

६. गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

७. सिराहामा आइतबार दिउँसो हरियारधारी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम लुटेका हुन् ।

८. विगत १८ वर्षदेखि नियमित प्रकाशन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)को पञ्चाङ्ग (पात्रो) यस वर्ष प्रकाशन नहुने भएको छ ।
‘नेपाल संस्कृतविश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र विश्वविद्यालय बीच समन्वय नहुँदा वि.सं २०८१ देखि प्रकाशनमा नआउने भएको हो ।

Exit mobile version