वरिष्ठ बामपन्थी नेता मोहन वैद्य (किरण) ले पुष्प कमल दाहाल (प्रचण्ड) सत्तामा गएपछि जनयुद्धका मुद्दा छाडेको आरोप लगाएका छन् । जसरी पनि सत्तामा टिकिरहने प्रचण्डको ‘चतुर्याईले जनयुद्धका मुद्दा कमजोर भएको भन्दै मुलुकको अवस्था परिवर्तनका लागि क्रान्तिकारी शक्तिहरू बीच राजनीतिक धु्रविकरण आवश्यक भएको किरणले औंल्याए ।
सोमबार नेपालगन्जमा आयोजित ‘जन आन्दोलन, संयुक्त जन आन्दोलन र कम्युनिष्टहरू विषयक बहसमा प्रमुख वक्ताका रूपमा रहेका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले जनताले आन्दोलनलाई साथ दिएपनि नेताले नै त्यसलाई परिवर्तनमा रूपान्तरण गर्न नसकेको टिप्पणी गरे ।
‘प्रचण्ड चतुर छन्, उनीसँग जनयुद्धको आधार पनि छन्’, नेता किरणले सत्तामा गएपछि पद लोलुप हुँदै गएर आन्दोलन छोडेको आरोप प्रचण्डमाथि लगाउँदै भने, ‘जनयुद्धका मुद्दा भने छाड्दै गए ।’ उनले क्रान्तिकारीहरू एकताबद्ध हुँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको औंल्याउँदै भने, ‘क्रान्तिकारी भर्सेस अवसरवादी बीचको धु्रवीकरण अपरिहार्य छ ।’
हर्क बहादुर शाही स्मृति फाउण्डेसनले हर्क बहादुर शाही (दिनेश) को स्मृति दिवस पारेर अन्तरक्रियात्मक बहसको आयोजना गरेको हो ।
फाउण्डेसनका अध्यक्ष दिपक शाहीको अध्यक्षतामा भएको अन्तरक्रियात्मक बहसमा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले कार्यपत्र प्रस्तुत (हेर्नुस् पृष्ठ २) गरेका थिए ।
पिटरले गरेको प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै विभिन्न वक्ताहरूले नेपालको कम्युनिष्ट आन्दोलनले आन्दोलनको उभार ल्याउने, जनतालाई प्रतिफल दिन नसकेर निराश बनाउने धारणा राखेका थिए । ‘आन्दोलन मात्रैले भएन अब सबै राजनीतिक दलहरू एक ठाउँ बसेर मुलुकको कार्यदिशा र नीति बनाउन आवश्यक छ’, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले भने ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, इच्छुक प्रतिष्ठानका पूर्व अध्यक्ष हिरामणि दुखी, माओवादी सिका स्थायी समिति सदस्य भरत बम, माओवादी केन्द्रका नेता दुर्गा बहादुर थारु, एमाले नेता भीम ओली, त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक रविन्द्र कर्ण लगायतले कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।