‘सीमावासीसँग सशस्त्र प्रहरी’, करोडौंको अवैध सामान बरामद

बाँकेमा भन्सार छली गरी भारतबाट ल्याइएको दश करोड रुपैयाँभन्दा बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको जनाएको छ ।

नेपालगन्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएको जानकारी दिंदै बुधवार पत्रकारसँगको भेटघाटमा सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले उक्त कुरा बताएका हुन् ।

चालु वर्षको साउनदेखि चैतको २७ गतेसम्म रु दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको डाँगीले जानकारी दिए ।

अवैध रुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।

प्रहरी उपरीक्षक डाँगीका अनुसार, सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ भन्ने अभियान चलाएको छ । अभियानका क्रममा सशस्त्र प्रहरीले नाकामा रहेका स्थानीयसँग घुलमिल गर्ने र उनीहरुको समस्यादेखि विकास निर्माणका काममा हातेमालो गर्ने रणनीति बनाएको डाँगीले बताए ।

डाँगीले शिक्षा, स्वास्थ्यका सवालमा नाकावासीको अवस्था कमजोर रहेको आफ्नो अध्ययन प्रस्तुत गर्दै नाकामा रहेका बासिन्दका जेहेन्दार छोराछोरीलाई सशस्त्र प्रहरीको स्कूलमा पढाइदिने, स्वास्थ्य शिविरहरु गर्ने, धारा, पानी, विजुली पुगेको छैन भने आफ्नो जनशक्ति लगाएर पु¥याइदिनेजस्ता गतिविधि गर्ने बताए ।

सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मा दिइएको छ । उसले पिलरदेखि अपराधिक गतिविधि रोक्ने काम गरिरहेको छ । बाँकेको ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । त्यहाँ ३ सय ११ वटा पिलर छन् । सशस्त्रका अनुसार, १६ वटा हराएका छन् ।

भौतिक पूर्वाधार र जनशक्तिको कमीले गर्दा सीमामा सशस्त्र प्रहरीको उपस्थिति भारतीय सीमा सुरक्षा बल (एसएसबी) को तुलनामा पातालो रहेको छ । बाँकेमा १० वटा विओपी छ । उता एसएसबीको २३ वटा पोष्ट छन् ।

बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन् ।

दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

Exit mobile version