मित्रलाल सापकोटा
आज बर्ष २०८० को अन्तिम दिन । चैत महिना सकिएसँगै देशमा बहुदलीय व्यवस्थाको ३४ बर्ष पुरा भएर ३५ बर्ष लागेको छ । यी चौंतिस बर्षमा नेपाली जनताले पाएको उपलब्धिको हिसाब किताब इतिहासले अवश्य गरेको छ, गर्नेछ । बर्ष २०८० बितेका चौंतिस बर्षमा सबैभन्दा निराशापूर्ण बर्ष रहेकोमा भने कुनै शंका रहेन । देशमा हत्या हिंसा र आतंकको समयमा पनि नेपाली अर्थतन्त्रमा यस्तो निराशाको बादल मडारिएको थिएन । मैले टाक्केटुक्के लेखन गर्न थालेकोे ३२ बर्ष भयो । तर यस बीचमा पहिलोचोटी जनतामा यस्तो निराशा पलाएको पाएको छु । २३ बर्षे लक्का जवान हुँदा २०४६ सालको आन्दोलनमा आफुपनि सहभागी भएयता आजसम्म नेपालको राजनीतिमा नैतिकताको खडेरी परेको अवस्था पनि यहि बर्ष २०८० मा नै महसुस भयो । २० बर्ष शैक्षिक पेशामा आबद्ध भएर हजारौं विद्यार्थीको मनोभाव बुझ्ने मौका पाएको आफ्नो दुइदशकको बालमस्तिष्कसँगको सामिप्यतामा रहँदा उनीहरुमा आएको निराशा पनि बर्ष २०८० अत्यन्तै खतरनाक देखियो । सबैतिरबाट निराशाले गाँजेको बर्ष २०८० बनेर आज बिदाइ हुँदैछ ।
२०४७ सालको बहुदलीय संविधान पछिका ३४ बर्षमा सिँहदरबारमा झण्डै चार दर्जन सरकारहरु पसे । हजारौं मन्त्रीहरु पसे । नारायणहिटीबाट देशको अभिभावकत्व शितलनिवासतिर पनि सर्यो । आफ्नो मौलिकतालाई गाली गरेर विदेशीलाई खुशी पार्ने संविधान पनि आयो । नेपाली समाजमा अराजकताको पराकाष्ठा नै हुनेगरि संवैधानिक व्यवस्था र कानूनहरु नर्माण भए । नेपालको मुल कुल धर्म सँस्कृति भाषा सभ्यतालाई गाली गर्नु र विदेशी विधर्मीहरुको मुल कुल धर्म सँस्कृति भाषा सभ्यतालाई प्रशंसा गर्नु, संरक्षण गर्नुलाई धर्मनिरपेक्ष भएको प्रमाणित गर्ने परिपाटी पनि मज्जैले बसाइयो । देशभित्रका राष्ट्रिय चिन्तनहरु, शक्तिहरु, देशका लागि तन मन बचन र कर्मले लाग्नेहरुलाई खेदो खन्ने, प्रतिगमनकारी भन्ने, धाक धम्की दिने, कानून र शासनको तुज्जुब देखाएर तर्साउने बुट बजार्ने जस्ता कामहरु छ्याप्छ्याप्ती चले चलिरहेका छन् ।
निरंकुशताको बिरुद्ध लडेको जनता आज झन तानाशाहको शासन बेहोर्न बाध्य छ । निराशामा बाँचेको छ । उसमा अर्को आन्दोलन गर्ने शक्ति छैन । आफ्नो देशको मुल कुल धर्म सँस्कृति भाषा सभ्यता र आफ्नो स्वाधिनताको लागि हिजो जस्तो ज्यान हतेलीमा राखेर आन्दोलन गर्ने युवा नेपालभित्र बचेनन् अब । बिप्रेषण पिपासु, भ्रष्ट, नाताबाद, कृपाबाद, जनताको बचतमा ठगीगर्ने, करमा लूट मचाउने, देशलाई सार्वजनिक ऋणको भारी बोकाउने सरकारहरुको मात्रै हालिमुहालीले अब पनि कसलाई विश्वास गर्ने भन्ने शंकै शंकाामा जनता छन् । हिजो हाकाहाकी बैंक डकैती भए । आज सिंहदरबारमा बसेर बैंक मात्रै होइन सहकारी समेत लुटिँदै छन् । हिजो गाउँ गाउँमा झण्डा गाडेर जग्गा कब्जा गरिए । आज सिंहदरबार मै बसेर कागज मिलाएर कब्जा गरिँदै छन् । हिजो विदेशमा बसेर देशभित्र अराजकता मचाइयो । आज सिंहदरबारमा बसेर अराजकता मचाइँदै छ । हिजो गाउँ गाउँ पसेर जनता धम्क्याइयो । आज सिंहदरबारमा बसेर जनता धम्क्याइँदै छ । हिजो घरबाट थुतेर गोली ठोकियो आज बाटो मै, त्यै सिंहदरबारको नाकैमुनी गोली ठोकिँदै छ । हिजो पुजारीलाई सँस्कृत पढाउने गुरुहरुलाई मारियो । आज भिक्षु, पुजारी, मठमन्दिरका संरक्षक, हिन्दु धर्मगुरुहरुलाई कतै लात बुट हानिँदै छ, कतै मारिँदै छ ।
बर्ष २०८० को अन्तिम दिनसम्म आइपुग्दा देशले काँचुली फेरेको छैन भन्न मिल्दैन । निकै दह्रो तालले नै काँचुली फेरेको छ । नयाँ जीवन, नयाँपनको लागि नफेरेर आफ्नो आत्महत्याको लागि काँचुली फेरेको भन्न मिल्छ । यो बर्ष देशको अस्मिता नै लिलामी गरियो । देशलाई केहि बर्षमा वर्तमान युक्रेनको अवस्थामा पुर्याउने योजना संविधान भन्दा माथि राखेर संसदबाटै पारित गरी विदेशीलाई अधिकार सम्पन्न गरियो । नेपालको कुटनीतिक इतिहासमा पहिलोपटक कसैको टाँसो लागेर निर्णय गर्दै असंलग्नताको नीति भंग गरियो । जनताको करबाट आफ्ना सन्तान सहित दुई दुई हप्ता विदेशी सैरसपाटा गरेर सरकार र राज्यको तमाशा देखाइयो ।
२०४७ साल यता जहिले पनि नौ महिने सरकारहरु भए, काम गर्न पाइएन । सरकार स्थिर भएन । भन्ने जस्ता कुराहरुलाई मिथ्या बनाउँदै तीन महिने एक महिने प्रदेश सरकारहरु निर्माण गरेर समृद्धिको दह्रो खाका कोरिँदै छ । सरकार बनाउन, सत्तामा बसिरहन, आफ्नो स्वार्थ पुरा गर्न सबै नीति, नैतिकता तिलाञ्जली दिने परिपाटीको थालनी गरेर नेपालमा लोकतन्त्र र शुसाशनको खाका तयार गरिएको छ । आफु सत्तामा रहे संविधान र लोकतन्त्र सुरक्षित अरु सत्तामा पुगे संविधान, लोकतन्त्र र देशै खतरामा रहने गज्जब भाष्यको निर्माण गरिएको छ ।
जनप्रतिनीधिले कर्मचारी कुट्ने, कार्यकक्षमै थुन्ने, महिला लगाएर बदनाम गराउने जस्ता परिपाटीको थालनी गरेर सुशासनको नयाँ खाका तयार भएको छ । राज्यकोषबाट भत्ता खाएर कानून बनाउने जिम्मा पाएकाहरु हाजिर गरेर आइएनजिओ भतेर खान जाने परम्परा त बहुदलको बिशेषता नै भएको थियो । तर गणतन्त्रमा महिनौंसम्म संसद नै अबरुद्ध गरेर कामकाज नै नगर्ने परिपाटीलाई संस्थागत गरिँदै छ । सत्ता बाहिर हुँदा आफुले गरेको कर्तुत सबै बिर्सेर सत्तामा हुँदा अर्को पार्टीले त्यस्तै गर्यो भने लोकतन्त्र र विधिप्रक्रियाको बिरुद्ध भन्ने आरोप प्रत्यारोपमा जाने तर जिम्मेवारी कसैले नलिने चलन संस्थागत भएको छ ।
देश चलाउने जिम्मा कसको ? यसको जवाफदेहिता कस्को ? यी प्रश्नका उत्तरहरु खोजिन्नन् । अरुका टाउकामा दोष थोपेर संसद सरकार देखि कर्मचारी र पार्टीहरु पानी माथिको ओभानो हुने परिपाटी संस्थागत भएको छ । देशमा आयदिन हत्या, बलात्कार, चोरी, डकैती, धर्म, परिवर्तन गराउने अपराधहरु खुलेआम भएका छन् । त्यसमा कडा कारवाहीको अपेक्षा गर्नु जनताका लागि ‘आकाशको फल आँखा तरि मर’ भने झैं भै सकेको छ ।
बर्ष २०८० सकिँदै गर्दा देशमा सुशासनका हिसाबले, सरकारको स्थिरताका हिसाबले, देशको विदेश नीतिमा एकरुपता र अडिकताको हिसाबले, नेपालको कुटनीतिक प्रभावका हिसाबले निराशाजनक नै रह्यो । आन्तरिक शान्ति सुरक्षाका हिसाबले पनि प्रशंसा गर्न योग्य काम यस बर्ष कुनै भएनन् । देशको शिक्षा क्षेत्रमा रहेको विभेदको अन्त्य भएन । शिक्षा ऐन थारो पाडो पाले झैं भयो । प्रदेश राजनीति नेपालको लागि घाँडो नै हो भन्ने प्रमाणित भयो । भ्रष्टाचार सुनकाण्डहरुमा मुछिएकाहरुलाई कारवाहीको नाममा चोख्याउने प्रपञ्चहरु खुब चले । अर्थतन्त्रमा कुनै सकारात्मक संकेत आउन सकेन । ठूला बैंकहरु नै धरापमा रहेको हल्ला र ऋण खाएर तिर्नु पर्दैन भन्ने चर्चाले देशको वित्तिय क्षेत्रमा ठूलो नकारात्मक असर पर्यो । आर्थिक परिसूचकहरु राम्रा देखिएनन् । हजारौं लघुउद्यमी र साना ब्यापारीहरुको बजारबाट पलायन हुने क्रम तीब्र बन्यो । आफ्नो अर्कण्यतालाई लुकाउन राजाको नागरिक अभिनन्दनमाथि लगेर हिलो छ्यापियो । न त विश्वविद्यालयहरु खाली हुने क्रम रोकियो न विश्वविद्यालयमा कुनै थिति बस्न सक्यो । तर नयाँ नयाँ विश्वविद्यालयका चर्चा भने भैरहे ।
चैत महिना भित्रै देशका बिभिन्न ठाउँमा पाठ्यपुस्तक पुगेको भन्ने समाचार सुनिएका छन् । देशमा नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि सरकारी छात्रवृतिमा गरिएको विभेदको सर्वोच्वको फैसलाले अन्त्य भएको छ । समाजमा केहि सकारात्मक संदेशहरु पनि प्रवाह भएका छन् । जनतामा आफ्नो मौलिकता प्रति चासो बढ्दो छ । हिजो आफ्नो मौलिकतालाई गाली गर्न जिन्दगी खपाएकाहरु बर्ष २०८० को अन्तसम्म आइपुग्दा ब्याकफुटमा पुग्न थालेका छन् । यी बर्ष २०८० ले दिएका केहि आशा हुन । यहि गति रहे अबको चुनावसम्म मौलिकता बिरोधीहरुले आफ्नो नीति नेपाल निरपेक्ष होइन नेपाल सापेक्ष बनाएर भोट माग्न जानु पर्नेछ । यी र यस्तै छिटफुट आशाका किरणहरु र कामहरु बाहेक समग्रमा बर्ष २०८० निराशाको बर्ष नै मान्नुपर्छ । बर्ष २०८१ ले आशाको सञ्चार गराओस् । नेपालको मुल कुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतामा थप जागरण बढेर जाओस् । नयाँ बर्ष देश र जनताका लागि आशालाग्दो बर्ष बनोस् । नयाँ बर्ष २०८१ को संसारभर छरिएर रहेका समस्त नेपालीलाई हार्दिक एंव मंगलमय शुभकामना !