मलमपट्टीमा स्वागत अनि शुभकामना

नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको मलमपट्टी मर्निङ वाक ग्रुपले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई स्वागत गरेको छ ।
नयाँ वर्ष २०८१ को पहिलो दिन शनिवार मलमपट्टी मर्निङ वाक ग्रुपले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

मलमपट्टीका संरक्षक डा। सुरेश कुमार कनोडियाले प्रहरी प्रमुख कार्कीलाई स्वागत गर्दै जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनेमा विश्वास जनाए ।

मलमपट्टीका सदस्य, अधिकाकर्मी भोला महतले जिल्ला प्रहरी कार्यालयको जिर्ण भौतिक संरचनाको कारण थुनुवाहरुले भोग्नु परेको सास्तीको बारेमा प्रहरी प्रमुखको ध्यानाकर्षण गराए ।
मलमपट्टीका तर्फबाट अधिकारकर्मी महतले अघि सारेका सवालमा प्रदेश सांसद रत्न खत्रीले आवश्यक संरचना निर्माणको निम्ति संयोजन गर्ने प्रतिवद्धता जनाएपछि प्रहरी उपरीक्षक कार्कीले तत्काल आफुले योजना बनाउने बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीका‌ सरोकारका बारेमा आफ्ना कुरा राख्दै विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले लागुऔषध नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने औंल्याए ।

कानुन व्यवसायी विकास आचार्यले उजुरी, अनुसन्धान तथा अभियोजन प्रकृयामा प्रहरीले देखाउनुपर्ने संवेदनशीलताको बारेमा चर्चा गर्दै प्रहरी उपरीक्षक कार्कीको ध्यानाकर्षण गराए ।
वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले सार्वजनिक स्थलमा धुम्रपान निषेध र ध्वनि प्रदुषण नियन्त्रणको विषयलाई उठाए ।

सबैका सवाललाई सम्बोधन गर्दै बाँके प्रहरी प्रमुख कार्कीले प्रहरी संगठन भित्रका समस्या र तिनको सम्बोधनमा आफ्नो प्रतिबद्धता जनाए ।

कार्यक्रमको संयोजन गरिरहेका मलमपट्टीका सदस्य डा। बद्री चापागाईले मलमपट्टीले गरेका सामाजिक दायित्वका काम र ग्रुपको अवधारणा बारे प्रकाश पारेका थिए ।

Exit mobile version