देशमा आजः ८ बजे ८ खबर

१. ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा शनिबार आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् ।

२. चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । शनिबार गैडाको आक्रमणबाट घाइते सुवास रेग्मीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

३. नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई भर्चुअलरुपमा सम्बोधन गर्दै नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताएका हुन् ।

४. हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो । अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ ।

५. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

६. नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पू्रा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलकाबीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्ने बताए ।

७. ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

८. सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । शनिबार नयाँ वर्षको शुभसाइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाहीस्नान गरिएको हो ।

Exit mobile version